त्रिविका सहप्राध्यापक नै कांग्रेस केन्द्रीय कार्यालयका सचिव

काठमाडौ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक नै कांग्रेसको पार्टी कार्यालयमा कर्मचारीको रूपमा काम गरेको पाइएको छ । कांग्रेस कार्यालयमा मुख्यसचिवपछिको वरीयतामा रहेका सचिव प्रदीप पराजुली पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र विषयका सहप्राध्यापक हुन् । उनी कांग्रेसको केन्द्रीय कार्यालयमा लामो समयदेखि सचिवका रूपमा कार्यरत छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले केही समयअघि त्रिविमा राजनीतिक हस्तक्षेप भएको भन्दै विज्ञप्ति नै निकालेको थियो । तर, सरकारको कदमको विरोध गर्ने कांग्रेसको केन्द्रीय कार्यालयमै प्राध्यापक सचिवको रूपमा क्रियाशील छन् ।

आंशिकबाहेकका त्रिविका सबै शिक्षकले शैक्षिक संस्थामा आंशिक रूपमा पढाउनसमेत केन्द्रीय कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, पराजुलीलाई कांग्रेस कार्यालयमा सचिवका रूपमा काम गर्न क्याम्पसबाट सिफारिस भएको छैन र केन्द्रले समेत स्वीकृति दिएको छैन । त्रिविका अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले अहिलेसम्म कसैलाई पनि पार्टी कार्यालयमा काम गर्न स्वीकृति नदिएको बताए ।

त्रिविका प्राध्यापकले अन्यत्र पढाउन तथा गैरसरकारी संस्थामा आंशिक समय काम गर्न कार्यरत संस्थाबाट समेत अनुमति लिनुपर्छ । पराजुली कार्यरत रहेको पाटन संयुक्त क्याम्पसले समेत उनलाई सिफारिस गरेको छैन । क्याम्पसप्रमुख लक्ष्मणसिंह कुँवरले कसैले पार्टी कार्यालयमा काम गरेको जानकारी नभएको र आफू आएपछि सिफारिससमेत नगरेको बताए ।

क्याम्पसप्रमुख कुँवरले भने, ‘म क्याम्पस चिफ भएपछि पार्टी कार्यालयमा काम गर्न सिफारिस गरेको छैन, त्यसबारेमा मलाई जानकारी पनि छैन । पार्टी कार्यालयमा काम गर्नु नैतिकताको कुरा हो ।’

०५६ तिर पार्टटाइमका रूपमा क्याम्पस पढाउन थालेका पराजुलीले केही समयपछि सहप्राध्यापकमा नाम निकालेका थिए । तर, कांग्रेस फुटेको वेला ०५९ मा कांग्रेस प्रजातान्त्रिकतर्फ कार्यालयसचिव भए । त्यसपछि ०६२÷६३ को जनआन्दोलनको समय उत्कर्षमा पुग्दा भने पराजुली सक्रिय देखिएनन् ।

राजाको प्रत्यक्ष शासनकाल भएकाले प्राध्यापकले राजनीति पनि गरेको देखिँदा जागिर गुम्ने भयले उनी दुई वर्षजति भने सक्रिय नभएको कांग्रेस स्रोतको भनाइ छ ।

‘कांग्रेस फुटलगत्तै उहाँ सचिव हुनुभयो । जनआन्दोलन उत्कर्षमा पुग्दा दुई वर्षजति उहाँले पार्टी काममा निरन्तरता दिनुभएन,’ कांग्रेस स्रोतले भन्यो, ‘राजनीतिसँगै क्याम्पसमा पढाउने काम गर्दा जागिर अप्ठ्यारोमा पर्ने भएकाले उहाँ दुई वर्षजति पार्टीमा निष्क्रिय बस्नुभयो । तर, जनआन्दोलनपछि भने पुनः सचिवमै फर्किनुभयो ।’ सुशील कोइराला सभापति भएपछि पराजुली पनि पुनः सचिव भए । त्यसयता उनी निरन्तर केन्द्रीय कार्यालयमा सचिव छन् ।

क्याम्पस पढाउने भए पनि आफूले राजनीतिक आस्थाका रूपमा कांग्रेसमा भोलेन्टियर रूपमा काम गरेको दाबी गरे । ‘पार्टटाइमबाट क्याम्पस पढाउन सुरु गरेपछि पार्टीमा सचिव भएर काम गरेको हुँ । पछि उपप्राध्यापकमा नाम निकालेदेखि नै बिहान मात्रै क्लास लिँदै आएको छु,’ पराजुलीले नयाँ पत्रिकासँग भने, ‘बिहान कहीँ काम गर्न मिल्दैन । तर, दिउँसो भोलेन्टियर रूपमा काम गर्न मिल्छ । राजनीतिक पृष्ठभूमिको मान्छे भएकाले भोलेन्टियर रूपमा पार्टीलाई सहयोग गरेका हुँ ।’ कांग्रेस केन्द्रीय कार्यालयमा आफूले हाजिर नगरेको र तलबभत्ता नबुझेको उनको दाबी छ ।

त्रिविका स्थायी प्राध्यापकले राजनीतिक सम्बन्धका आधारमा पार्टी कार्यालयमा जागिर खाने र अरूलाई पछाडि पार्दै बढुवा हुने गरेका छन् । तर, राजनीतिक पहुँचका आधारमा कलेज खोल्ने, सांसद र अरू नियुक्तिका लागि पार्टीमा लबिङ नगरेको उनी बताउँछन् । आफू एसोसिएट प्रोफेसर भएपछि आफ्नो विरोध गरेको उनको भनाइ छ ।

प्राध्यापक, कर्मचारीहरू कहीँ न कहीँ भोलेन्टियर रूपमा पार्टीमा हुनुलाई आपत्ति मान्न नहुने उनको भनाइ छ । नेपाल कमर्स क्याम्पस मीनभवनमा प्राध्यापन गर्ने दाजु दिलीप पराजुलीलाई पनि उनले शिक्षा विभागमा राख्न लबिङ गरेका थिए । पराजुली कांग्रेसमा विवादित बनेको क्रियाशील सदस्यताको पुरानो रेकर्ड अद्यावधिक राख्ने काममा सक्रिय छन् ।

पराजुली मात्रै होइन प्रजातन्त्रवादी प्राध्यापक संघमा आबद्ध धेरै प्राध्यापक र शिक्षक कांग्रेसको राजनीतिमा सक्रिय छन् । पार्टीका विभाग, केन्द्रीय प्रशिक्षण प्रतिष्ठानमा पनि क्याम्पसमा पढाउनेहरू सक्रिय छन् । त्यस्तै, क्याम्पसमा पढाउने प्राध्यापक, विद्यालयका शिक्षक धेरै संख्यामा कांग्रेसमा महाधिवेशन प्रतिनिधि छन् । यो समाचार आजको नयाँ पत्रिकामा छ । 

 

 

 

प्रतिक्रया दिनुहोस्