अल्का अस्पतालकी गीता मृत अवस्थामा फेला

ललितपुर । तीन दिनदेखि हराइरहेकी अल्का अस्पतालकी कर्मचारी गीता केसी मृत अवस्थामा फेला परेकी छन् ।

अल्का अस्पतालमा कार्यरत ३९ वर्षीय गीताको शव शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको हो । आज (शनिबार) बिहान मात्रै सो शव गीताकै भएको पुष्टि भएको हो । गीताको हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

हत्या गरेको आशंकामा प्रहरीले एक जना आफन्तलाई पक्राउ गरेको ललितपुर परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए । प्रहरीका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

गीता हराएको भन्दै उनको परिवारले तीन दिन पहिले प्रहरीमा जाहेरी दिएका थिए । गीताको शव पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याइएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्