भारतमा पाँच महिनापछि संचालनमा आए मेट्रो रेल

काठमाडौ । कोरोना भाइरस महामारीका कारण बन्द रहेका भारतका मेट्रो रेलहरूले पाँच महिनापछि सोमबार बिहानबाट आफ्नो सेवा सुरू गरेका छन् । कोरोना भाइरसको महामारी सुरू भएपछि बन्द भएको मेट्रो सेवा आज बिहान ७ बजेदेखि संचालनमा आएको हो ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट संचालनमा आएको छ भने बेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको छ । यस्तै, लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा सुरू गरेका छन् । भारतको केन्द्र सरकारले कोरोना भाइरसका कारण लगाइएको लकडाउनलाई चरणबद्ध रूपमा खोल्ने योजनाको चौथो चरणअन्तर्गत सोमबारबाट त्यहाँ मेट्रो सेवाहरू पुनः सुरू भएका हुन् ।

भारतले मेट्रो संचालन गर्दा पालना गर्नुपर्ने सर्तहरू गत महिना सार्वजनिक गरेको थियो । मेट्रो सुरू भएपछि हुने सेवाग्राहीको सम्भावित भिडलाई नियन्त्रण र नियमन गर्न बिहानैदेखि मेट्रो स्टेशनहरूमा प्रहरीहरू खटाइएको छ । मेट्रो सेवा लिनेहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ भने सामाजिक दूरीलाईसमेत पालना गर्नुपर्नेछ ।

यस्तै मेट्रो प्रयोगका लागि अनलाइन रिचार्च गर्न मिल्ने स्मार्ट कार्डलाई अनिवार्य गराइएको छ भने यसअघि प्रयोगमा रहेको टोकन प्रणाली खारेज गरिएको छ । भारतले मेट्रो सेवालाई चरणबद्धरूपमा खोल्ने योजना बनाएको छ। त्यहाँको मेट्रो सेवा पहिले झै खुल्न भने केही समय लाग्नेछ ।

 

 

 

प्रतिक्रया दिनुहोस्