नि:शुल्क दिनुपर्ने रेम्डेसिभिरमा समेत पैसा असुल्दै अस्पताल

काठमाडौ । कोभिड– १९ को उपचारमा प्रभावकारी मानिएको औषधि रेम्डेसिभिरको ‘क्लिनिकल ट्रायल’मा अस्पतालहरूले बिरामीबाट पैसा असुल गरिरहेका छन् । सरकारले प्लाज्मा थेरापी सुरु गरेका कोभिड अस्पतालहरूमा निःशुल्क रेम्डेसिभिर प्रयोग गर्ने निर्णय गरे पनि निजी तथा सरकारी अस्पतालले बेच्ने गरेका छन् ।

सरकारले अस्पतालहरूलाई भनेको छ, ‘बिरामीको अवस्था हेरेर रेम्डेसिभिर किनेर दिनुहोस्, त्यसमा लागेको खर्च हामी व्यहोर्नेछौँ ।’ सरकारले रेम्डेसिभिरको पैसा दिन्छ भन्नेमा अस्पतालहरू विश्वस्त छैनन् । त्यसैले क्लिनिकल ट्रायलमा रहेको रेम्डेसिभिर आफूले किनेर बिरामीलाई बेच्ने गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले आफूहरूले खरिद गरेकै मूल्यमा बिरामीलाई बेचेको बताए । ‘रेम्डेसिभिर प्रयोग गरेको पैसा स्वास्थ्य मन्त्रालय वा एनएचआरसी कसले दिने हो अहिलेसम्म यकिन भएको छैन,’ डा. राजभण्डारीले भने, ‘बिरामी बचाउनु चिकित्सकको दायित्व भएकाले हाम्रा बिरामीलाई आफैँले किनेर बेचेका छौँ ।’

‘क्लिनिकल ट्रायल’मा रहेको औषधि प्रयोग गर्न निःशुल्क उपलब्ध हुन्छ । बरु औषधि उत्पादक कम्पनीले सम्बन्धित देशको अनुसन्धान संस्थालाई ठूलो रकम उपलब्ध गराउँछ । तर, यो रेम्डेसिभिरको क्लिनिकल ट्रायलमा भने सरकारले नै बिरामीलाई ठगिरहेको छ । अस्पतालले सप्लायर्ससँग प्रतिभाइल ६ हजार चार सय रुपैयाँमा रेम्डेसिभिर खरिद गर्दै आएका छन् । आफ्नो फार्मेसीमार्फत खरिद गर्ने र लागेकै मूल्यमा बिरामीलाई बेच्ने गरेका छन् । टेकु अस्पतालका प्रमुख डा. राजभण्डारीले भने, ‘हामीले बिरामीलाई खर्चको बिल राख्न भनेका छौँ, यदि सरकारले रकम उपलब्ध गराएको खण्डमा उनीहरूको बिलअनुसारको रकम फिर्ता गर्छौँ ।’ टेकु अस्पतालमा अहिले १९ जनाले रेम्डेसिभिरको प्रयोग गरिरहेका छन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालयको विश्वास गर्न नसकेपछि रेम्डेसिभिरको प्रयोग गरेको छैन । अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार आफैँले किनेर बिरामीलाई निःशुल्क दिनुपर्ने भएपछि अस्पतालमा प्रयोग नगरिएको हो । मन्त्रालयले आवश्यक रकम दिएको खण्डमा मात्रै बिरामीलाई रेम्डेसिभिर चलाउन सकिने डा. दासले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक अनुसन्धानकर्ताका अनुसार रेम्डेसिभिर निजी अस्पताललाई प्रयोग गर्न सहज हुने गरी स्वास्थ्य मन्त्रालयले आयात अनुमति दिएको थियो । ‘सरकारको आपतकालीन भ्याक्सिन प्रयोगबारे कुनै नीति–नियम छैन,’ उनले भने, ‘नीति–नियम नभएपछि जबर्जस्त अनुसन्धानको नाममा छिराएको हो ।’

निजी अस्पतालले रेम्डेसिभिरको प्रयोगमा चर्को मूल्य लिने गरेका छन् । ह्याम्स, नेपाल मेडिसिटी, नर्भिक, ग्रान्डी, स्टारलगायतका अस्पतालमा समेत यसको प्रयोग भएको छ । जति पनि अस्पतालले रेम्डेसिभिर प्रयोग गरेका छन्, उनीहरूले बिरामीलाई नै खरिद गर्न लगाएका छन् ।

अनुसन्धान परिषद्का सदस्यहरूले पनि निजी तथा सरकारी दुवै अस्पतालहरूले रेम्डेसिभिर प्रयोगमा बिरामी ठगिरहेको बताए । रेम्डेसिभिर खरिद गर्ने सप्लायर्सहरूले पनि निजी अस्पतालले चर्को मूल्यमा खरिद गरिरहेको बताए । एक सप्लायर्स भने, ‘कतिपय अस्पतालले त बजार मूल्यभन्दा बढी तिरेर किनिरहेका छन् । त्यसका लागि नेतादेखि मन्त्रीसम्मले उपलब्ध गराउन भन्ने गरेका छन् ।’नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्