नेपालमा कोरोना संक्रमितभन्दा निको हुने दोब्बर बढी

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित हुनेको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या झण्डै दोब्बर देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सोही समयमा एक हजार ७३६ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको छ । अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २५९ रहेको छ ।

देशका विभिन्न प्रयोगशालामा परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा नौ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा थप ९७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

अघिल्लो दिनकै हाराहारीमा सोमबार पनि कोरोना पुष्टि भएको हो । आइतबार ९८० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा अझै बढी सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको छ ।

सोमबार मात्र काठमाडौँ उपत्यकामा थप ३२६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमा काठमाडौँमा सङ्ख्या उच्च छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौँमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ गरी कुल ३२६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको थियो ।

यसैगरी सोमबार नेपालमा कोरोना सङ्क्रमणबाट ११ को मृत्यु भएको छ । डा. गौतमले काठमाडौँका तीनसहित देशभर थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्