कोरोना कहरमा शैक्षिक माफियाको रजाई र बौद्धिक मजदुरको पीडा !


कुनैपनि व्यक्ति, समाज र राष्ट्रको सर्बाङ्गिण विकासको लागि शिक्षा अति महत्त्वपूर्ण अधारभूत आवश्यकता हो। शिक्षा बिनाको व्यक्ति पशुतुल्य नै हुन्छन। जबसम्म ब्यक्ति शिक्षित हुदैन तबसम्म शिक्षित समाज र देशको कल्पना पनि गर्न सकिदैन। आजको आधुनिक टेक्नोलोजीको युगमा शिक्षा र शिक्षणशैलीमा ब्यापक परिवर्तन भएपनि बिना गुरुको ज्ञान असम्भव रहेको कुरा विश्वब्यापी रूपमा फैलिएको कोरोना महामारीले पुष्ठि र प्रमाणित नै गरेको छ। कोरोना महामारीको कारण विश्वको अनेकौं देशका करोडौं बालबालिकाहरु विगत केही महिनादेखि स्कुल जान पाएका छैनन। नेपालमा पनि गत चैत ११ गते देखि कोरोना महामारी फैलिएको सरकारी घोषणा पश्चात देशभरीका सरकारी तथा निजि बिद्यालय, क्लेज र क्याम्पसहरु ठ्प्प छन।

कोरोना महामारीले अबरुद्ध गरेका पठनपाठनलाई निरन्तरता दिन केही निजी संस्थाहरूले अनलाइन क्लास पनि संचालन गरेको देखिन्छ। तर यी अनलाइनक्लासबाट प्रभावकारी शिक्षण हुन सकेको देखिदैन। सानो कक्षाका लागि त अनलाइन क्लास झन अनुपयोगी र प्रभावहिन देखिन्छ। तरपनि मामा नहुनु भन्दा कानो मामा राम्रो भने जस्तै जसोतसो अनलाइन क्लासहरु चलिरहेछन। वास्तवमा अनलाइन क्लास भनेको कोरोनाको कारण ठ्प्प रहेको शैक्षिक ब्यापारलाई अलि गति दिई अभिभावक संग पुरै फी असुल्ने नयाँ शिक्षण पद्धति हो। विद्यार्थीलाई अनलाइनको माध्यमले टिउसन दिई स्कुल शुल्क असुल्ने शैक्षिक माफियाहरुको रणनीति हो। परजीवीहरु द्वारा परजीवीहरुलाइ नाफा कमाउनका लागि तयार पारिएको विशेष प्रकारको अब्यबहारिक शैक्षिक पद्धति हो। त्यसै अनुरूप अभिभावकलाई दबाब पनि दिइएको छ।

अनलाइन क्लास चलाए बापत चाडै विद्यार्थीका फी बुझाउन आग्रह गरिए। विभिन्न संचार माध्यमहरुबाट निजि संस्था तथा तिनीहरुको ग्यांगबाट धम्किपुर्ण भाषाको प्रयोग पनि सुनियो। ब्यापारमा भएको घाटाबाट मानसिक सन्तुलन गुमाय झै अनाप-सनाप नै अभिभावक र देशलाई सुनाए। जुन अति निन्दनीय थिए। शिक्षा जस्तो पवित्र सेवाको पेशालाइ मात्र ब्यापार ठानेका घृणित मानसिकताको उपज जस्तो लाग्यो। वास्तवमा के यी संस्थाहरू आधुनिक युगका गुरुकुलहरु हुन त? यी शैक्षिक संस्थाहरू बन्दहुनु भन्दा पहिला देखि नै यसमा पढाउने बौद्धिक मजदुरहरुको तलब रोका गरेर बसेका छन। अहिलेसम्म तिनीहरुलाई तलबको एक सुको पनि दिइएको छैन। र पाउने आस पनि छैन।

विगत ५/६ महिना कसरी बिताए ती बौद्धिक मजदुरहरुलाइ मात्र थाहा छ! अस्तिमात्र केही बौद्धिक मजदुरलाई फलफूल र तरकारी बेचिरहेको देखें। बिचरा लाजले मुख छोपे। तरपनी नमस्कार भन्दै कामगरी खानुमा लाज हैन है मित्र भन्दै वहाँबाट केहि तरकारी किने। तर ती निर्ल्लज, बेइमान, परजीवी शैक्षिक माफियाहरुलाइ के को लाज? क ले के भन्ने? सरकारपनि गोजि मै छ तब कसलाई के मतलब? यी बौद्धिक मजदुरहरुको मजबुत र भरपर्दो संगठन पनि छैन। जसले ती परजीवी, माफियाहरु द्वारा गरिएका अन्याय, अत्याचार, विभेद र दमनका विरुद्ध सशक्त अवाज उठाउथ्यो र आवश्यक परेको बेला प्रतिकार पनि गर्थ्यो होला। तर दुर्भाग्य कोहि कतै छैन। नेपालको एकमात्र असंगठित बौद्धिक मजदुरका कथा र ब्यथा सुन्ने र सुनाउने कोहि छैन। न्युनतम तलबमा गुणस्तरीय शिक्षा दिने यी मजदुरहरु अहिले अति नै दुखी र चिन्तित बनेका छन।

सरकार त अति लापरबाह र गैरजिम्मेवार देखिएको छ। आज कोरोना महामारीको अति कठिन बेलामा तिनीहरुको पीडा बुझने, बोल्ने र मल्हम लगाउने कोहि छैन। निजि शैक्षिक संस्था संचालकहरु केवल आफ्नो हक, हित तथा फाइदाका कुरा गरिरहेका छन। तर उनिहरुलाइ कमाएर दिने मजदुरका बारेमा एक शब्द पनि कोहि कतैबाट सुनिएन। यो त्यति अस्वाभाविक पनि होइन।मजदुरका हक, हित, अधिकार र फाइदाका बारेमा मालिक प्राय चुप नै हुन्छन्। तर सरकार त्यसमा पनि कम्युनिस्टको सरकार जो भासणमा जहिले पनि गरिब, मजदुर र निमुखा जनताको सरकार भन्छ त्यो यी बौद्धिक मजदुरका निम्ति चुप किन? ब्यापारमा नाफा भएको बेला नाफाबाट ती संस्थामा काम गर्नेलाई एक रुपैयाँ पनि नदिने ब्यापारीबाट घाटा भयो सुन्दै चुपचाप बसेको सरकारले आखिर शिक्षा क्षेत्रलाई कुन दिशा र गति दिन लागेको छ? के मानसिक र समाजिक रूपमा कम्जोर शिक्षक/ शिक्षिकाले प्रभावकारी पठनपाठन चलाउन सक्षम हुने छन त? के अब निजि क्षेत्रमा शिक्षकको आवश्यकता खत्म भैसकेको छ त? पटकै हैन। तर सरकार र निजि क्षेत्रको उदासीनता, लापरबाही र गैरजिम्मेवार रबैयाले भोलि निश्चिति एउटा ठुलो बिकराल समस्याको जन्म दिने देखिन्छ।

कम्युनिस्ट त भन्छन नाफामा मजदुरका अंश पनि हुन्छन। यसकै लागि विश्वमा ठूल्ठूला क्रान्ति पनि भए। र वास्तवमा हुनु पनि पर्छ। तबमात्र समाज र देश बिकासको बाटो तिर जादैछ भन्ने महसुस गर्न सकिन्छ। तर विचारले मात्र कम्युनिस्ट नभई व्यबहारमा पनि कम्युनिज्म अंगाल्न सक्नुपर्छ। जुन नेपालको कम्युनिस्ट र कम्युनिस्ट सरकारको बिशेषता देखिदैन। जसले गर्दा आज शिक्षा, स्वास्थ्य जस्ता अधारभुत क्षेत्रका अवस्था पनि एकदमै जर्जर नै बनेको छ।आज स्कुल, क्याम्पस बन्द छन। घाटा पनि छ, माने।

तर भोलि त खुल्ने छ। ती ब्यापारीहरुको ब्यापारमा नाफा त भै नै हाल्छ तर जहिलेपनि घाटामा नै काम गर्ने ती बौद्धिक मजदुर अहिले झन घाटामा किन? दुई छाक टार्ने तलब पनि नदिने? नाफाको पार्टनर नहुने कर्मचारी घाटाको पार्टनर कसरी हुनसक्छन? कसले जवाफ दिने? देशको संरचनामा परिवर्तन भएको एक युग नै भयो तरपनी निजि शैक्षिक क्षेत्रमा काम गर्नेहरुको अवस्था जस्ताको त्यस्तै भन्दा पनि आज लोकतान्त्रिक गणतन्त्रमा एकदम नाजुक र लाजमर्दो भएको छ।

निजि क्षेत्रको मनपरि र सरकारको निजि क्षेत्र प्रतीको अस्वभाविक उदारताले गर्दा आज मनले निजि क्षेत्रमा कोहि पढाउन नै चाहदैनन्। सधै कमाएर नेम, फेम र प्रोफिट दिनेहरूलाई नै आज गाँस, बाँस र कपासको कमि भएको छ। बाच्नै नसक्ने अवस्था भएको छ। सधै श्रम शोषणका शिकार भएका ती बौद्धिक मजदुरहरु अहिले त झन उच्च शोषणमा परेका छन। राज्य र संबंधित संस्थाले वास्ता नै गर्न छाडेका छन। आखिर निजि क्षेत्रका शिक्षकहरुको के औकात? के नै गर्न सक्छ र ?

निजि क्षेत्रका शिक्षकहरुको के औकात? के नै गर्न सक्छ र? अहिले तलब नदिए पनि एउटालाइ बोलाउने बितिकै सबै आफै कुदेर आउँआउछ ! एकदुईटा बढी बोल्ने, लेख्ने र बुझनेलाई जागिरबाट नै हटाइ आफ्नो रवाफ कायमै रहने सोचका साथ निजि क्षेत्रका प्राय संचालकहरु मस्त छन। ८/१० वटा कक्षाकोठा भाडामा लिएर व्यापार सुरु गरेकाहरु आज शैक्षिक माफिया र कथित समाजसेवी नै बनेका छन। कागजमा गरिब, मजदुरका छोराछोरी देखाइ लाभ नलिएका सायदै कोहि होला। अभिभावकबाट लिएका शुल्कका बरोबर सुबिधा दिने पनि कति छन त?

यो शुल्क त्यो शुल्कका नाममा अभिभावकबाट पैसा हत्याउनेहरु आज शिक्षकलाई भोकै मर्नका लागि राम भरोसामा छाडिएका छन। आफनो गल्तीको कारण अभिभावकलाई नै मान्छन। शिक्षकले कस्को गल्ती मान्ने? आफूले काम गरेको संस्थासंग पैसा माग्ने वा अभिभावक संग? निश्चिति संस्थासंग नै हो। तर संस्थालाई के को मतलब? के देशमा बेरोजगारी कम भएको छ त? वा यी बौद्धिक मजदुरहरु संगठित भएका छन त? हैन। तब नो टेन्सन !

न्युनतम तलबमा प्रत्येक दिन कमसेकम ७ घण्टी अनिवार्य काम गराउनु के श्रम शोषण हैन त? निशुल्क वर्षको चारवटा परिक्षाको बिस्तृत रिपोर्ट तयार गरि विद्यार्थी, अभिभावक र संस्थालाई संतुष्ट गर्ने बौद्धिक मजदुरहरु मानसिक, शारीरिक र आर्थिक शोषण अब कति झेल्ने? संगठित भै सशक्त रूपमा उभिने बेला भएको छ। राज्य र मालिकको भरमा न बसि आफनो कलमको ताकत देखाउने समयको मांग बमोजिम एक्सन लिने बेला आएको छ। सधै कलम लिएर हिड्ने हातले मसाल लिएर आफनो इतिहास आफै लेख्ने बेला आएको छ। शिक्षा क्षेत्रमा रहेका माफिया, परजीवीका मनपरिलाई सदैबका लागि अन्त्य गरि आफनो मेहनत र परिश्रमको मूल्य आफै तोक्नका लागि आगाडी बढौं। आफ्नो भविष्य आफै बनाउन अगाडि बढौं। आफ्नो हक, हित, अधिकार र न्यायका लागि आफै दृढ संकल्पित भएर लडौं। कलमको ताकतको लागि लडौं। नयाँ र उज्ज्वल भबिस्यका लागि लडौं। गैरजिम्मेवार राजनैतिक ब्यबस्थाले कलमलाइ बनाउन लागेका नपुंसकताको विरुद्धमा लडौं। परिवर्तनको प्रेरक कलमका लागि लडौं।

(लेखक दीपक कुमार सिंह, जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य हुन उनी राष्ट्रिय जनतान्त्रिक गठवन्धनमा समेत आबद्ध छ्न )

 

 

 

प्रतिक्रया दिनुहोस्