निमित्तको भरमा गुजारा चलाउदै मोहन्याल, २ हप्तामा २ जनालाई कामकाजको जिम्मेवारी

मन्त्रालय भन्छ ; खटाइएको स्थानमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुन्छ

बौनिया,कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वर्षौदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । यसअघि प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाको सरुवा भएदेखि मोहन्याल गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित हुँदै आएको हो ।

ओझाको सरुवापछि सुगरखाल स्वास्थ्य चौकीमा अधिकृत छैठौं तहमा कार्यरत जनस्वास्थ्य निरीक्षक जयनन्द जैशीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको कामकाज गर्न जिम्मेवारी दिइएको थियो । गएको २०७६ मंसिर १९ गतेदेखि निमित्तको जिम्मेवारी पाएका जैशीले करीब १ वर्षको कार्यकालसम्म कामकाज गरि साबिककै जिम्मेवारीमा फर्किने चाहना राखेपछि २०७७ साउन ७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिए ।

निवेदनमा उनले आफूले जिम्मेवारी नलिने जनाउँदै जिम्मेवारीबाट हटाई पाउँ भनी मन्त्रालयलाई अनुरोध गरेपछि सो पदमा कम्प्युटर अधिकृत छैठौं तहका भिम बिष्टलाई २०७७ साउन २ मा निमित्तको जिम्मेवारी दिएर पठाएको थियो ।

बिष्टलाई निमित्तको जिम्मेवारी दिएको २ हप्ता नबित्दै मन्त्रालयले पुनःगत भदौ ८ गतेको पत्रमा राजपत्रांकित तृतीय श्रेणीकी कर्मचारी गौरीकुमारी कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर काममा खटाएको छ । तर, कार्की अहिलेसम्म गाउँपालिका कार्यालयमा हाजिर हुन पुगेकी छैनन् स्थानीयका अनुसार अधिकृत बिष्टले नै निमित्तको कामकाज सञ्चालन गर्दै आएका छन् । कार्कीलाई जिम्मेवारी दिएर पठाएको बारेमा आफूलाई जानकारी नभएको अधिकृत बिष्टले बताए ।

भौगोलिक रूपमा विकट मानिएको मोहन्याल गाउँपालिकामा स्थायी कार्यालय स्थापना नहुँदा विभिन्न ठाँउबाट कार्यालयको काम सञ्चालन हुँदै आएको नेपाली कांग्रेसका नेता प्रेम बुचामगरले बताए । उनले गाउँपालिकाको केन्द्र खिमडी भएपनि कार्यालय, फलेबिसौना, बौनिया, पितमारी र धनगढीबाट सञ्चालित हुनु दु:खद भएको बताए । जनतालाई एकातिर सास्ती भएको छ भने, अर्कोतिर कर्मचारीलाई समेत काम गर्न असहज वातावरण भएको उनले बताए ।

गाउँपालिकामा जनप्रतिनिधि कर्मचारी सरुवा र निमित्तको जिम्मेवारी दिने चलखेलमा लागेको आरोप समेत उनले लगाए । कोरोना महामारीको बेला जनजीवन प्रभावित र अस्तव्यस्त भइरहेको तर, कर्मचारी कार्यालयमा नपुगेर झोलाबाट सञ्चालन गरिरहेको उनले बताए । उनले उच्च अदालत दिपायलको फैसलामा समेत खिमडीबाट कामकाज सञ्चालन गर्न आदेश भइसकेकाले गाउँपालिकाको केन्द्र खिमडीमै स्थायी कार्यालय स्थापना गरि काम सञ्चालन गरिनुपर्ने बताए ।

गाउँपालिका जनप्रतिनिधिबाट नै आफूलाई अनुकुलको निर्णय हुने गरि कर्मचारीलाई सरुवा गर्ने र जिम्मेवारीबाट हटाउने काम हुँदै आएको स्थानीयको आरोप छ ।

यसअघि मोहन्याल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र बुढालेसमेत निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनका लागि आफू पनि छैठौं तहको सिनियर कर्मचारी भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत पाउनुपर्ने भन्दै दिएको निवेदनको सुनुवाइ नभएको बताइएको छ ।

कार्यालयमा सिनियर कर्मचारीले जिम्मेवारी माग गर्दै दिएको निवेदनको सुनुवाइ नगरि भर्खरै लोकसेवाबाट सिफारिस भइ कर्मचारी समायोजन प्रक्रिया अनुसार पदस्थापन भएका बिष्टलाई आफूले २०७७ साउन ५ गते हाजिर गराएको भन्दै कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिइएकोप्रति पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैशीले असन्तुष्टि व्यक्त गरे । उनले अहोरात्र खटिएर काम गर्ने कर्मचारीको योगदानको मूल्यांकन नहुन थालेपछि साविकको जिम्मेवारीमा आफू फर्किएको समेत बताए ।

आर्थिक तथा प्रशासनिक कामकाजको जिम्मेवारी महिनादिन नबित्दै पुनःअधिकृतलाई मन्त्रालयले पठाएपछि कर्मचारीलाई काम गर्ने सहज वातावरण समेत नहुने यहाँका स्थानीय बताउँछन् । निमित्तको भरमा संचालित गाउँपालिकामा महिना नपुग्दै कर्मचारीलाई जिम्मेवारी हस्तान्तरण हुन थालेपछि प्रभावित हुने देखिएको छ ।

प्रशासनिक संरचनामा समेत दुर्गमका हिसाबले मोहन्याल मध्यवर्गमा पर्छ । गाउँपालिका अन्तर्गतका कतिपय ठाँउमा सडक र सञ्चारको समेत सहज पहुँच हुन सकेको छैन । जसले समन्वय र सम्पर्क गर्न समेत ठूलो कठिनाइ हुने गरेको छ ।

गाउँपालिकाको पत्रमा त्रुटि:

मोहन्याल गाउँपालिकाले हालै जारी गरेको परिपत्रमा त्रुटि भएको पाइएको छ । निमित्तको जिम्मेवारीमा रहेका मोहन्याल गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भिम बिष्टको हस्ताक्षर रहेको पत्रमा मिति नै गलत उल्लेख छ । हालै मात्र जिम्मेवारीमा रहेका अधिकृत बिष्टले २०७५ भाद्र २२ गतेको मिति उल्लेख गरि परिपत्र गरिएपछि आलोचना समेत भएको छ ।

स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समिक्षा सम्बन्धमा उपस्थित हुन सामुदायिक स्वास्थ्य इकाई प्रमुखहरुलाई लेखिएको पत्रमा यस्तो त्रुटि भएको छ । पत्रमा उल्लेखित प्रायःजसो शब्द अशुद्ध छन् । कर्मचारीको कार्यसम्पादनमा त्रुटि, कमजोरी देखिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

तीन दिनभित्र हाजिर हुन मन्त्रालयको ताकेता:

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र आआफ्नो स्थानीय तहमा हाजिर हुन भनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मन्त्रालयबाट सरुवा तथा कामकाजका लागि विभिन्न स्थानीय तह तथा अन्य कार्यालयहरूमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई समयमै हाजिर हुन ताकेता गरेको हो ।

‘खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू समयमा नै कार्यालयमा हाजिर हुन नगएको/अनुपस्थित भएकोले कार्यालयका दैनिक कामकाजदेखि हाल विश्वभर फैलिई रहेको कोभिड–१९ का कारण गर्नुपर्ने व्यवस्थापन लगायतका कार्यहरू सम्पादन गर्न बाधा परिरहेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र आ आफ्नो सरुवा–कामकाजको लागि खटाइएको स्थानीय तह तथा कार्यालयहरूमा हाजिर भई त्यसको जानकारी यस मन्त्रालयमा गराउन हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’ जारी सूचनामा भनिएको छ । साथै खटाइएको स्थानमा नजाने कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम विभागीय कारबाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्