चारदिन देखि सीमामै बाँस ,गरिवलाई भारत छिर्नै महाभारत

काठमाडौ । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमाना पुगेको छ । तर, कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका छन् ।

सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन् । बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन् । कोही तीन दिन भयो, कसैको चार दिन । यसरी विपन्न र बेरोजगार नेपाली भारत छिर्ने महाभारतमा छन् ।

नेपालगन्जको जमुनाहा नाकामा भेटिए दैलेखेको गुराँस गाउँपालिका गोगनपानीका सन्तोष विक । भारत छिर्न तीन दिनदेखि जमुनाहा प्रयास गरिरहेका उनले नयाँ पत्रिकासँग भने, ‘जनताबाट उठेको कर छ, त्यो जनताको पैसा हो । त्यसको सदुपयोग भइदिएको भए नेपालमा असम्भव केही थिएन । हामीले यही देशमा रोजगारी पाउने थियौँ, विदेशीको गुलामी गर्न धाउनुपर्ने थिएन । घरमा बुढाबुढी बाबुआमा र सानो बच्चा छ । यो महामारीको वेला मलाई बिदा गर्दा ती आमा र त्यो बच्चाको आँखाबाट आँसु झरेको छ ।’ यति भनेर उनी धेरैबेरसम्म निःशब्द भए ।

हो, सन्तोष विकजस्ता हजारौँ युवाको यात्रालाई बाबुआमा, श्रीमती र बालबच्चाको आँसुको बाँधले रोक्न सकेको छैन । किनकि तिनै बाबुआमाको औषधि र बालबच्चाको भविष्यको चिन्ता गर्ने युवासँग देशमा रोजगारी छैन । त्यसैले भारतमा महामारी उत्कर्षमा छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू उतै ओइरिएका छन् ।

विवश युवाहरूलाई आफ्नै घरपरिवारले रोक्न सकेन, बरु भारतीय सुरक्षाकर्मीले रोक्छन् कि भन्ने डर छ । सन्तोष पनि तीन दिनदेखि नाकामै छन् । उनी कहिले छिर्न पाइने हो भन्ने अनिश्चित छ, तर यत्तिकै गाउँ फर्किइँदैन भन्ने त निश्चित छ ।

‘भारतमा महामारी छ भन्ने कसलाई थाहा छैन र ? तर, त्योभन्दा ठूलो महामारी घरमा छ । छोराछोरीको अनलाइन पढाइ सुरु भएको छ, तिनलाई भोकै राख्नु भएन । गाउँमा सहयोग मागौँ भने पनि सबैको अवस्था उस्तै छ । सरकारले आफ्नो कर्तव्य पूरा गरेन । तर, बुढाबुढी बाबुआमाप्रति हामीले आफ्नो कर्तव्य भुल्न सकेनौँ,’ दाङको शान्तिनगर धनौरीका रमेश डाँगीले भने ।
ज्यानको माया लाग्दैन ? सिमानातर्फ लागिरहेका यी युवालाई जोसुकैले सोध्ने प्रश्न यही हो । ‘आफ्नो ज्यानको माया त लाग्छ नि, तर साहुले माया गर्दैन,’ दैलेखबाट झरेका नन्दबहादुर खड्काको सोझो जवाफ छ । उनी भन्छन्, ‘यत्रो ६ महिना ऋण गरेर त खर्च चलाइयो, तर अब पैसा पाउन छाडियो, उल्टै साहुले पैसा माग्न र थर्काउन थाले । गाउँमा के मुख देखाएर बसिरहनु ?’

दैलेख दुल्लुका सुकदन परियार लकडाउनकै कारण मातृभूमि खोज्दै नेपाल आएका हुन् । भारतमा रोजगारी गुमेको थियो, कहिले टेम्पोमा, कहिले ट्र्याक्टरमा चढेर त कहिले हिँडेर सात दिनपछि उनी जमुनाहा नाका आइपुगेका थिए । नेपाल छिर्दा उनी जति खुसी थिए, अहिले भारत छिर्न पाइँदैन कि भनेर उनी त्योभन्दा बढी चिन्तित छन् । पाँच महिना गाउँ बसेपछि उनको टिप्पणी छ, ‘नेपाल सरकार आफैँ यति बेहाल छ भन्ने अनुमान थिएन ।’ चार दिनदेखि नाकामा रोकिएका उनी भन्छन्, ‘म त जति दिन लागे पनि भारत छिर्छु, तर मजस्ता अरू युवालाई सरकारले दुःख नदेओस् ।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँबाट निस्किएका नेपाली बाँकेको जमुनाहा, कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमा जम्मा हुने क्रम जारी छ । कैलाली घोडाघोडी नगरपालिका–६ का गोरखबहादुर रोकाया त्रिगनर नाका पुगेका छन् । दसैँ–तिहारको मुखमा बिदेसिन थालेका उनले भने, ‘अघिपछि यो वेला गाउँ आउने गथ्र्यौँ, तर यसपालि दसैँ–तिहारको अर्थ छैन । घरमा खर्च भए पो चाडपर्व हुन्छ ।’

त्रिनगरमा घोडाघोडीकै शेरबहादुर मगरलाई चाडपर्वप्रति कुनै आकर्षण मात्र होइन, रोगप्रति डर पनि हराएको छ । ‘रोग त कहिले–कहिले, भोकले आजभोलि नै मरिन्छ जस्तो भयो,’ उनले यति भनिरहँदा श्रीमतीको काखमा भएको बच्चा रोइरहेको थियो । बच्चालाई फकाइफुल्याई गरेपछि श्रीमती धना बोल्न अघि सरिन्, ‘चाडपर्वका वेला मात्र हो र ? अघिपछि पनि आफ्नो देश छाडेर जान कसलाई माया लाग्छ र ?’

आफ्नो देश, आफ्नो परिवार कति प्यारो हुन्छ भनेर यी नेपालीलाई जति कसलाई थाहा होला र ? ‘देश र परिवार भनेर त ज्यान हत्केलामा राखेर आइयो, गाउँ आएपछि पनि २८ दिन क्वारेन्टाइनमा बसियो । तर, पाँच महिनामा लकडाउन पालना गर्नेबाहेक केही गर्न सकिएन, त्यसैले निराश भएर भारत फर्कंदै छु,’ कैलाली टीकापुरका नरेश परियारले भने । (नयाँ पत्रिका दैनिकबाट )

 

 

 

प्रतिक्रया दिनुहोस्