कहिलेदेखि सुरु होला आन्तरिक उडान ? यस्तो छ सरकारको तयारी

काठमाडौ । कोरोना महामारी नियन्त्रणका लागि चैत्र ११ गतेबाट गरिएको लकडाउनपछि बन्द आन्तरिक उडान असोज दोस्रो साताबाट खोल्ने तयारी भएको छ ।

पहिलो चरणमा कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने गरी तयारी भएको हो । चाँडबाड नजिक आएको हुनाले उडान सुरु गर्न लागिएको सरकारी पक्षको भनाइ छ। हवाई सञ्चालकहरूले आन्तरिक उडान तत्काल खोल्न दबाब दिएपछि पटकपटकको भाकापछि सरकारले असोज १५ को मिति तय गरेको हो ।

यसअघि सरकारले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो ।  असोज १५बाट आन्तरिक उडान खोल्ने प्रस्ताव कोभिड–१९सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा यो प्रस्ताव पठाइसकेको पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले बताए । ‘

आन्तरिक उडान कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार छ, सो बेला चाँडबाड पनि आउनेछन् र उडान पनि सुचारु गर्ने तयारी गरिरहेका छौँ,’ आर्थिक पत्रकारहरूको सङ्गठन सेजनको कार्यक्रममा बिहीबार मन्त्री भट्टराईले भने । हाल दैनिक सात आठ अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।

त्यो सङ्ख्या बढाउँदै लैजाने मन्त्री भट्टराईले जानकारी दिए । अहिले दैनिक करिब हजार जना स्वदेश फर्किएका छन् । यो सङ्ख्या अब दैनिक तीन हजारसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।  स्वदेश फर्कन चाहने करिब पाँच लाख नेपाली रहेको बताउँदै उनले उनीहरूलाई तत्काल ल्याउने बताए । उनले भने ‘वैदेशिक रोजगारीमा गएकाहरूको रोजगारी गुमिसक्यो ।

कतिपय कम्पनीले कम्पनीकै खर्चमा नेपाल पठाउने भनेका छन् । कतिपय बेखर्ची भएकाहरूलाई उद्धार गर्नुपर्नेछ ।’ दक्षिण एसिया व्यावसायिक उडान गर्ने नेपाल नै पहिलो देश भएको मन्त्री भट्टराईको दाबी छ । विश्वमै अहिले औसतमा ५० प्रतिशतभन्दा कम उडाउन भएको उनको भनाइ छ ।

सरकारले कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि आन्तरिक उडान बन्द गरेको छ भने अन्तर्राष्ट्रियतर्फ भने केही समययता सुरक्षाका मापदण्ड अपनाएर सीमित गन्तव्यमा नियमित र चार्टरमार्फत उडान हुँदै आएको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्