केन्द्रीय कारागारका ४ जना कैदीबन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंस्थित् केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप चारजना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको बताए ।कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए । उनीहरु सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।

मृत्युपछि संक्रमण पुष्टि भएकाहरुमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन् । उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो । ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो ।

यसअघि, भदौ १५ मा ललितपुरको मेगा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका एकजना कैदीमा कोरोना पोजेटिभ देखिएको थियो ।

 

 

 

प्रतिक्रया दिनुहोस्