मंसिर दोस्रो साताभित्र २ लाख टन मल आयात गर्ने सरकारको तयारी

काठमाडौ । सरकारले आगामी मंसिर दोस्रो साताभित्र २ लाख टन मल आयात गर्ने तयारी गरेको छ । सरकारी अनुदानमा रासायनिक मल आपूर्ति र वितरणको जिम्मा लिएका दुई सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंसिरसम्म २ लाख ५ हजार टन युरिया, डिएपी र पोटास आयात गर्ने ठेक्का सम्झौता गरेका छन् ।

थप १ लाख ५ हजार टन मल आयातको टेन्डर र ठेक्का सम्झौता गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । तर, मंसिरमा उक्त परिमाणअनुसारको मल ल्याउन ठेकेदारलाई निरन्तर दबाब दिइरहनुपर्ने जानकारहरू बताउँछन् । चालू आर्थिक वर्ष ०७७÷७८ का लागि सरकारले रासायनिक मल ल्याउन ११ अर्ब अनुदान छुट्याएको छ । अनुदान रकममध्येबाट कृषि सामग्रीले ७० प्रतिशत र साल्ट टे«डिङले ३० प्रतिशत मल आयातको जिम्मेवारी पाएका छन् ।

कृषि सामग्रीका प्रवक्ता विष्णु पोखरेलका अनुसार चालू आवका लागि २ लाख ४५ हजार टन रासायनिक मल आपूर्तिका लागि टेन्डर भइसकेको छ । त्यसमध्ये कात्तिक र मंसिरभित्र आइसक्ने गरी १ लाख ३० हजार टन मल आपूर्तिको ठेक्का सम्झौता भइसकेको छ । ‘मंसिर दोस्रो साताभित्र ८० हजार टन युरिया आयातको सम्झौता भएको छ,’ पोखरेलले भने, ‘त्यस्तै, ४० हजार टन डिएपी र १० हजार टन पोटास आयात हुनेछ ।’

उनका अनुसार पोटास आयातका लागि छनोट भएको इन्डिया पोटास लिमिटेड (आइपिएल)ले विशाखापट्टनम बन्दरगाहमा १० हजार टन ल्याइसकेको छ । सो पोटास एक महिनामा नेपाल भित्रिन सुरु हुने पोेखरेलले बताए । त्यस्तै, ४० हजार डिएपीमध्ये २० हजार टन मुक्तिनाथ कृषि कम्पनी र २० हजार टन आइपिएलसँग ठेक्का सम्झौता भइसकेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

चालू आवको युरिया आयातका लागि भने बदनाम ठेकेदार शैलुङ इन्टरप्राइजेजसँग ३० हजार टन र २५ हजार टन गरी कुल ५५ हजार टनको सम्झौता भइसकेको छ । त्यस्तै, थप २५ हजार टन युरिया आयातका लागि कृषि सामग्रीले मुक्तिनाथ कृषि कम्पनीसँग सम्झौता गरेको छ । सो कम्पनीले पनि मंसिरभित्र ल्याइसक्नुपर्ने समयसीमा तोकिएको छ ।

गत आवको २५ हजार टन युरिया आयात गर्न नसकेपछि शैलुङलाई कृषि सामग्रीले सम्झौता रद्द गर्ने, जमानत जफत गर्ने निर्णय गर्दै कालोसूचीमा समेत राख्न सिफारिस गर्ने तयारी गरेको छ । यो कारबाहीपछि चालू आवको ठेक्का सम्झौताअनुसार युरिया ल्याउन शैलुङलाई दबाब बढेको कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए ।

कृषि सामग्रीले हिउँदे बाली लक्षित गरी थप १ लाख १५ हजार टन रासायनिक मल आपूर्तिको टेन्डर प्रक्रिया अघि बढाएको छ । यसमध्ये ३० हजार टन युरिया खरिदका लागि स्विस सिंगापुर कम्पनी छनोट भइसकेको छ । ‘अब केही दिनभित्रै ठेक्का सम्झौता हुनेछ,’ प्रवक्ता पोखरेलले भने । त्यस्तै, थप ३० हजार टन युरियाको टेन्डर भएको र केही दिनमै आपूर्तिकर्ता छनोट गरिने उनले बताए । कम्पनीले ३० हजार र २५ हजार टन डिएपी खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाएको छ ।

कृषि सामग्रीले मल ल्याउन ढिलाइ गरिरहेका वेला साल्ट टे«डिङले भने धमाधम आयात गरिरहेको छ । कृषि सामग्रीले ५० हजार टन र साल्ट टे«डिङले २२ हजार टन युरिया खरिदका लागि सँगैसँगैजस्तो टेन्डर गरेका थिए । तर, कृषि सामग्रीले एक बोरा पनि ल्याउन सकेन भने साल्ट टे«डिङले तोकिएको समयअनुसार जेठ पहिलो साता नै भारतको कोलकाता बन्दरगाहमा ल्याएको थियो ।

लकडाउन र श्रमिक अभावका कारण लोडिङ हुन नसक्दा गत ८ भदौबाट मात्र सो मल भित्रिन सुरु गरेको छ । मुलुकभर युरियाको अभाव देखिएपछि साल्ट टे«डिङले चालू आवको पहिलो चौमासिकका लागि प्राप्त गरेको ७५ हजार टन खरिद आदेशमध्येबाट १० हजार टन युरिया थपेर कोलकाताबाट अहिले कुल ३२ हजार टन आयात गरिरहेको छ ।

साल्ट टे«डिङका सहायक महाप्रबन्धक पंकज जोशीका अनुसार प्रत्येक २–३ दिन बिराएर २५ सय टनका दरले युरिया आयात भइरहेको छ । अहिलेसम्म करिब १० हजार टन युरिया भित्रिसकेको छ ।

‘चालू आवको पहिलो चौमासिकमा ४० हजार डिएपी, ३० हजार युरिया र ५ हजार पोटास आयातको जिम्मा हामीलाई दिइएको छ,’ जोशीले भने, ‘अहिले युरियाको चरम अभाव देखिएपछि हामीले गत आवको २२ हजार ५ सय टनमा थप १० हजार टन तुरुन्त किनेर ल्याइरहेका छौँ ।’ उनले ३० हजार टनमध्येबाट १० हजार टन ल्याएको बताए ।

 

 

 

प्रतिक्रया दिनुहोस्