सुदूरपश्चिममा महिला हिंसा वृद्धि, ५ महिनामा १ सय ५० मुद्दा दर्ता

कञ्‍चनपुर । सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणी, घरेलु हिंसा र आत्महत्याका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको लकडाउन अवधिमा   विशेष गरी प्रदेशमा जबरजस्ती करणी र बलात्कारका घटनामा बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

गत चैत महिनायता हालसम्म  प्रदेशका नौ वटै जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी १५० वटा मुद्दा प्रहरीमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत चैत महिनामा कैलालीमा ६, कञ्चनपुरमा ३, बाजुरा र बझाङ्गमा दुई-दुई र बैतडीमा एक गरी जबरजस्ती करणीका १४ वटा मुद्दा दर्ता भएका छन् ।  चैतमा जबरजस्ती करणी तर्फ कैलाली र कञ्चनपुरमा दुई÷दुई वटा गरी चार वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय जबरजस्ती करणीका मुद्दाहरु पनि बढ्दै गएको देखिएको छ । त्यसैगरी गत बैशाखमा कैलालीमा ८, कञ्चनपुरमा ३ र डोटी, अछाम, बाजुरा र दार्चुलामा एक÷एक गरी जबरजस्ती करणीका घटना प्रहरी कार्यालयमा दर्ता भएका बताइएको छ ।

यस्तै गत जेठमा यहाँ जवरजस्ती करणीमा २३ र जवरजस्ती करणी उद्योगमा ५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । गत असारमा भने मुद्दा बढेर जबरजस्ती करणीमा २५ र उद्योगमा १२ वटा मुद्दा गरी ३७ वटा मुद्दा यहाँका जिल्ला प्रहरी कार्यालयहरुमा दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कैलालीमा दुवै मुद्दा गरी २१ वटा दर्ता भएका छन् ।

गत साउनमा पनि  जबरजस्ती करणी सम्बन्धी मुद्दा ३२ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ । साउनमा जबरजस्ती करणीमा २१ र सो सम्बन्धी उद्योगमा ११ वटा मुद्दा दर्ता भएका छन् ।यही भदौ+ महिनामा पनि जबरस्ती करणी सम्बन्धी १५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बन्दाबन्दीमा जबरजस्ती करणी र उद्योगमा घटना विगतजस्तैको अवस्थामा रहेको जानकारी दिए । “विगतको तथ्याङ्क हेर्ने हो भनेपनि केही तलमाथि बाहेक समान नै छ ,” उनले भने, “बन्दाबन्दी भएर यसप्रकारका मुद्दा बढे भनिहाल्नुपर्ने अवस्था छैन् ।

उनले उक्त घटनाहरुमा अभियुक्तहरु कानुनी कारबाहीको दाउरामा रहेको जानकारी दिए । “अपराधमा संलग्नहरु यी मुद्दामा कोही पनि फरार रहेको अवस्था छैन,” उनले भने, “कोरोना कहरको जोखिमका बीच पनि प्रहरी गाउँबस्ती दुरदराजसम्म पुगेर सुरक्षाको आभाष दिलाइरहेकै छ ।”

त्यसैगरी माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले लकडाउन अवधीमा महिला हिंसाका घटनाहरु बढेको बताए । “सबै जना बेरोजगार भए, गुजारा चलाउन पनि गाह्रो हुने स्थित भएकाले हिंसा बढ्ने अवस्था छ,” उनले भने, “अपराध नियन्त्रण गर्न कारवाही पक्ष बलियो हुनुपर्छ ।” उहाँले पछिल्लो अवस्थामा बेरोजगारी समस्या बढिरहेकाले स्वरोजगारका कार्यक्रम ल्याउन आवश्यक छ ।”

उनले माइती नेपालमा पनि जवरजस्ती करणी उद्योगका मुद्दाका साथै महिला हिंसाका घटनाहरु लिएर पीडितहरु उजुरी लिएर आइरहेको जानकारी दिए ।

“बन्दाबन्दीमा मानव बेचबिखन गर्ने दलालहरुको गिरोह पनि सक्रिय छ,” उनले भने, “भारत आवत जावत सुचारु हुन दिदा विभिन्न चलाखी गरेर सीमा कटाउने प्रयास हुदैछ ।”नेपालीहरुको नक्कली भारतीय परिचयपत्र ल्याएर सीमा कटाउने काम भइरहेको उनले बताए । – रासस

 

 

 

प्रतिक्रया दिनुहोस्