भरतपुर अस्पतालमा कोरोना संक्रमित आठ गर्भवतीको सुरक्षित प्रसूति

चितवन । भरतपुर अस्पतालले कोरोना संक्रमित आठ गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल दुई गर्भवती उपचाररत छन् ।

अस्पतालले संक्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरुबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटरसहितको व्यवस्था मिलाएको छ । संक्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्यसँग सम्पर्क नहुने गरी व्यवस्था गरिएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रामप्रसाद सापकोटाका अनुसार संक्रमणपछि अस्पतालमा प्रसूति गराएका सबै डिस्चार्ज भई स्थानीय तहको आइसोलेसनमा गएका छन् । उनीहरुबाट जन्मिएका नवजात शिशुमा संक्रमण देखिएको छैन ।

हालसम्म सुत्केरी भएर गएकाहरुको समस्या नआएको उनको भनाइ छ । संक्रमितमध्ये तीनको साधारण र पाँच जनाको शल्यक्रिया गरिएको हो । तीमध्ये शल्यक्रिया गरिएका दुई जनाको पछि संक्रमण पुष्टि भएको हो ।

 

 

 

प्रतिक्रया दिनुहोस्