पहिरोमा ज्यान गुमाएकाको आफन्तले दुई महिनापछि राहत

म्याग्दी । धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा ज्यान गुमाएकाको आफन्तले दुई महिनापछि राहत पाएका छन् ।

गत असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको ३५ लाख रुपैयाँ सोमबार वितरण गरिएको हो । मराङको राम्चेका चारजना मृतकका नजिकका हकदार विदेशमा भएकाले पछि हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

‘बिमको तल्लो गाउँका वीरबहादुर नेपालीसहित परिवारका चारैजनाको मृत्यु भएका कारण हकदार नभएकाले राहत वितरण भएन्,’उनले भने, ‘सरकारको पछिल्लो नियम अनुसार एउटा परिवारका एक जना सदस्यको मृत्यु भएमा दुई लाख र एक भन्दा बढीको एक लाख बढाएर एउटा परिवारलाई पाँच लाखसम्म राहत वितरण गरेका छौं ।

’ यसअघि प्रति मृतक एक लाख रुपैयाँका दरले राहत पाउने व्यवस्था थियो । वेपत्ताको हकमा जिवित फर्किएको अवस्थामा फिर्ता गर्ने र नभेटिए सरकारले दावी नगर्ने सर्तसहित मृतक सरह नै राहत उपलब्ध गराइएको छ । बिमको दुलेमा ज्यान गुमाएका बिष्णु शर्मा पौडेलका श्रीमान् र इच्छा पौडेलका बुवा सोमनाथ पौडेल तथा गौदेवी नेपालीका श्रीमान् र विशेष नेपालीका बुवा पूर्णबहादुर दर्जीलाई तीन/तीन लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

बिमको नौरुङको पहिरोमा बेपत्ता मराङकी एलिसा केसीका बुवा इन्द्रलाई दुई लाख उपलब्ध गराइएको छ । मराङको ठूलोगाउँका तुलबहादुर क्षेत्रीकी श्रीमतिहरु काली र लिला क्षेत्रीलाई दुई लाख, राम्चेकी रेश्मा सुनारका बुवा गोरे सुनारलाई दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

राम्चेका मनबहादुर, कमला, सुरज र सुरक्षा श्रीपालीको रामसती श्रीपालीलाई पाँच लाख, खिमबहादुर जुग्जालीको दिलबहादुर जुग्जालीलाई दुई लाख र रिखकी हिराकुमारी जुग्जालीका श्रीमान्, करिष्मा र कंचन जुग्जालीका बुवा धनबहादुरलाई चार लाख उपलब्ध गराइएको छ । यसैगरी गौशारा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको पाँच लाख भिमप्रसाद जुग्जालीलाई, कल्लेनीका प्रकाश केसीका भाई र जनिमा केसीका छोरा निकेस केसीलाई तीन लाख, सचिन पुनका बुवा पदम पुनलाई दुई लाख, दुखुकी गिता रोकाका छोरा नविनलाई दुई लाख हस्तान्तरण गरिएको थियो ।

नगदै वितरण गरिएको राहत रकम कार्यक्रम स्थलमै प्रभु र गरिमा बैंकको दरवाङ शाखाका कर्मचारीहरुलाई बोलाएर खाता खोल्न लगाई जम्मा गरिएको थियो । राहत वितरणका लागि सुरक्षा अधिकारीहरु सहित दरवाङ पुग्नुभएका प्रजिअ अधिकारीले दुई वटै स्थानीय तह र वडाका जनप्रतिनिधिहरुको रोहबरमा राहत वितरण गरेका थिए ।

पीडामा मल्हम लगाउने अपेक्षा गर्दै प्रजिअ अधिकारीले अतिआवश्यक बाहेकका काममा पैसा खर्च नगर्न अनुरोध गरे । प्रदेश सरकारले पठाएको राहत रकम पनि छिट्टै वितरण गरिने प्रजिअ अधिकारीले बताए । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले पीडितको साथमा तीनै तहका सरकार रहेको बताउँदै राहतवापत प्राप्त रकमले आवास व्यवस्थापनमा उपयोग गर्न आग्रह गरे ।

धवलागिरिका अध्यक्ष पुनले मृतकका प्रति परिवार १० हजार रुपैयाँका दरले किरिया खर्च वापत गाउँपालिकाले उपलब्ध गराएको बताए । मालिकाका अध्यक्ष रोकाले किरिया खर्च वापत मृतकका परिवारलाई २५ हजारका दरले उपलब्ध गराइने बताए । उनीहरुले पहिरोबाट घरबास गुमाएकाहरुको पुनस्थापनाका लागि सुरक्षित ठाउँमा जग्गाको खोजी भइरहेको बताए ।

असार २५ र २६ गतेको पहिरोमा मराङमा १९ जनाको मृत्यु, दुई जना बेपत्ता, बिममा ८ जनाको मृत्यु र एकजना बेपत्ता र दुखुमा एकजना बेपत्ता भएका थिए ।

 

 

 

प्रतिक्रया दिनुहोस्