नेपाल प्रवास स्वतन्त्र युवा संगठनद्वारा विपन्न, मजदुर घरपरिवारलाई खाद्यान्न सहयोग

गोविन्द बीसी,बौनिया । नेपाल प्रवास स्वतन्त्र युवा संगठनले खाद्यान्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न घरपरिवारलाई संगठनले सहयोग गरेको हो ।

मंगलबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–३ मा असहाय, अशक्त, मजदुर, एकल महिला र अपाङ्गता भएका विपन्न परिवारको विवरण संकलन गरि खाद्यान्न वितरण गरिएको संगठनले जनाएको छ । वडा अन्तर्गतका २५ घरपरिवारलाई खाद्यान्न सामाग्री प्रदान गरिएको छ ।

घरमै पुगेर युवाहरूले प्रति घरपरिवार १५ किलो चामल,१ प्याकेट खानेतेल, १ किलो दाल, १ प्याकेट नुन र १ प्याकेट बेसार र १ प्याकेट खुर्सानी वितरण गरेका छन् । केही दिनमै एकल महिला र अपांगता भएका व्यक्तिको तथ्यांक संकलन गरि प्रतिव्यक्ति ५ सय रुपैयाँका दरले आर्थिक सहयोग गर्ने र युवा तथा खेलकुद विकासका लागि खेलकुद सामाग्री वितरण गर्ने निर्णय भएको समेत जनाइएको छ ।

संगठनका वरिष्ठ उपाध्यक्ष खेमराज देवकोटाले न्यून आयस्तर भएका घरपरिवारलाई कोरोना महामारीका कारण महिनौंदिनसम्म जारी लकडाउन र निषेधाज्ञाले दैनिकी कष्टकर भएको र भोकभोकै बस्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका मजदुर र अति विपन्न परिवारलाई लक्षित गर्दै राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको बताए ।

लकडाउन र निषेधाज्ञा लम्बिँदै जाँदा खाद्यसंकट भोग्नु नपरोस् भन्ने उद्देश्यले गरीब घरपरिवारको पहिचान गरि खाद्यान्न लगायतका राहत सामग्री वितरण गरिएको देवकोटाले बताए । ‘लकडाउनका कारण आर्थिक स्रोत जुटाउन नसक्ने परिवारलाई सामाजिक तथा मानवीय सेवा भावना लिएर संगठनले आर्थिक जोहो गरेर पहिलो चरणमा राहत वितरण गरेको छ । उनले भने, ‘पहिलो चरणमा अति विपन्न र श्रमिकलाई लक्षित गरेर राहत वितरण गरिएको हो ।’

नेपाल प्रवास स्वतन्त्र युवा संगठनका अध्यक्ष कुशल ओली, उपाध्यक्ष अर्जुन विक, महासचिव कमल देवकोटा, सचिव पुष्पराज गौतम, कोषाध्यक्ष प्रदीप ओली लगायत प्रवासी नेपाली युवाको पहलमा राहत प्रदान गरिएको संगठनले जनाएको छ ।

सल्लाहकार संयोजक उत्तम बडुवालले समाजमा दु:खी, गरीब, असहाय नागरिकको जीवन रक्षा र सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएकाले सेवा भावनाले अभिप्रेरित हुँदै सहयोग गरिएको बताए । प्रवास र नेपालमा रहेका युवा साथीभाइहरु बीच आपसी समन्वय र सहकार्य गरि राहत कार्यक्रम गरिएको हो, उनले भने, यो कुनैपनि राजनीति दल र पार्टी निकट संगठन होइन, स्वतन्त्र रूपमा समाज सुधार र विकासका लागि काम गर्नु नै संगठनको लक्ष्य रहेको उनले बताए ।

यस्तै, वरिष्ठ सल्लाहकार सदस्य तेजबहादुर रामजाली, सल्लाहकार रमेश बडुवाल, हस्त रेश्मी, नवराज खड्का बिष्णु देवकोटा, एकेन्द्र ओली, मिलन बोहरा, वीरबहादुर बुढाले युवाले समाजमा मन, वचन र कर्मले एकताबद्ध भएर प्रसंशायोग्य काम गरेको भन्दै धन्यवाद दिएका छन् । यस्तै, भारतको बेङ्गलोर शाखा अध्यक्ष इन्द्र थापामगर र उपाध्यक्ष इन्द्र गाहामगरले नेपाल शाखामा रहेर जिम्मेवारी निर्वाह गरेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

राहत वितरण अभियानका क्रममा नेपाल शाखा अध्यक्ष गणेश बिक, उपाध्यक्ष श्याम चौधरी,कोषाध्यक्ष दिपक बुढा, सचिव कमल विश्वकर्मा,सहसचिव केशव ताम्राकार लगायत ५४ जना स्थानीय युवाको सहभागिता रहेको थियो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्