भेरी अस्पतालको पिसिआर ल्याबका ६ जना प्रयोगशालाकर्मी कोरोना संक्रमित

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालको पिसिआर ल्याबमा कार्यरत ६ जना प्रयोगशालाकर्मी संक्रमित भएका छन् । पिसिआर ल्याबमा कार्यरत १५ जना प्रयोगशालाकर्मीमध्ये ५ जना प्रयोगशालाका कर्मचारी र एकजना स्वयंसेवी संक्रमित भएका हुन् ।

कोरोनाका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन गर्नेदेखि प्रयोगशालामा बसेर कोरोनाको संक्रमण भए नभएको यकिन गर्नका लागि पिसिआर परीक्षण गर्ने कार्यमा निरन्तर खटिँदै आएका प्रयोगशालाकर्मीहरु नै एकपछि अर्काे गर्दै संक्रमित हुन थालेका छन् ।

करिब दुई हप्ताको अवधिमा ६ जना संक्रमित भएका हुन् । वैशाखको दोस्रोदेखि संचालनमा आएको भेरीको पिसिआर ल्याबमा ३९ हजार २ सय जनाको  पिसिआर परिक्षण भई सकेको छ । परीक्षण भएकामध्ये २ हजार २ सय २४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भेरी अस्पतालको पिसिआर ल्याब काठमाडौं उपत्यका बाहिर सबैभन्दा धेरै पिसिआर परीक्षण गर्ने ल्याब हो । सुरुवाती दिनहरूमा दैनिक  १० देखि १५ नमुना परीक्षणका गर्दै आएको भेरी अस्पतालको पिसिआर ल्याबमा पछिल्ला दिनहरूमा दैनिक ४ सय वटासम्म नमुना परीक्षण हुदै आएको छ ।

वैशाख ७ गतेदेखि निरन्तर रुपमा कोरोनाका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन र परीक्षणमा भेरी अस्पतालका प्रयोगशालाकर्मीहरु निरन्तर खटिँदै आएका छन् । एकतिहाइ कर्मचारी संक्रमित भए पनि पिसिआर परीक्षण भने नियमित रुपमा संचालन भइरहेको प्रयोगशालाका ल्याब टेक्निसियन प्रसिद्ध ढकालले बताए ।

बाँके जिल्लामा मात्रै करिब २३ हजार ६ सय ९४ जनाको पिसिआर परीक्षण भइसकेको छ भने बाँकेमा हालसम्म १ हजार ५ सय ४६ जना संक्रमितको पहिचान भएको छ । पहिचान भएका संक्रमित मध्ये ४ सय २५ जनाको उपचार भइरहेको ८ जनाको मृत्यु भएको र १ हजार ४५  जना निको भएर घर फर्किसकेका छन् ।  रासस

 

 

 

 

प्रतिक्रया दिनुहोस्