सामाजिक कार्यमा युवा सक्रियता, एकल महिला,अपांगता नागरिक र युवालाई सहयोग

गोविन्द बीसी,बौनिया । युवा तथा खेलकुद क्षेत्रको विकासका लागि नेपाल प्रवास स्वतन्त्र युवा संगठनले खेलकुद सामाग्री सहयोग गरेको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–३ मा आइतबार एक कार्यक्रमका बीच खेलकुद सामाग्री वितरण गरिएको संगठनले जनाएको छ ।

युवा तथा खेलकुद क्षेत्रको विकास गर्ने लक्ष्य लिएर स्थापना भएका स्थानीय युवा क्लबमा आवद्ध युवाहरूलाई खेलकुदप्रति थप उर्जा र हौसला प्रदान गर्न खेलकुद सामाग्री प्रदान गरिएको नेपाल प्रवास स्वतन्त्र युवा संगठनका वरिष्ठ उपाध्यक्ष खेमराज देवकोटाले जानकारी दिए ।

वडामा स्थापित साईनिङ्ग स्टार युवा क्लबका प्रतिनिधि मनोज सुनार, पशुपति युवा क्लबका प्रकाश बिक, केके युवा क्लबका प्रेम पोखरेललाई फुटबल र भलिबल हस्तान्तरण गरिएको जनाइएको छ । भलिबल ४ थान र फुटबल २ थान गरि १० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री प्रदान गरिएको उपाध्यक्ष देवकोटाले बताए ।

यस्तै, स्थानीय स्तरमा रहेका एकल महिला र अपांगता भएका २५ जना नागरिकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँका दरले १२ हजार ५ सय आर्थिक सहयोग गरिएको छ । आर्थिक रूपले कमजोर स्थितिका एकल महिला र शारीरिक रूपले अशक्त स्थानीय नागरिकको पहिचान गरि उनीहरुलाई केही राहत पुगोस् भन्ने लक्ष्यले आर्थिक सहयोग प्रदान गरिएको संगठनका अध्यक्ष कुशल ओलीले जानकारी दिए ।

संगठनले गएको भाद्र ३० गते वडा अन्तर्गतका विपन्न, मजदुर २५ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरेको थियो । सोही अभियानका क्रममा संगठनले आइतबार युवा लक्षित कार्यक्रम गरेको हो । नेपाल प्रवास स्वतन्त्र युवा संगठनका उपाध्यक्ष अर्जुन विक, महासचिव कमल देवकोटा, सचिव पुष्पराज गौतम, कोषाध्यक्ष प्रदीप ओली लगायतले युवा एकता आजको आवश्यकता भएको औल्याउँदै कार्यक्रममा सक्रिय सहभागिता जनाएकोमा धन्यवाद दिए ।

देशविदेशमा रहेका नेपाली युवाहरूको सहकार्य तथा समन्वयमा संगठित संस्थाले पछिल्लो समयमा सामाजिक विकासका साथै मानवीय सेवाको गतिविधिमा केन्द्रित हुन थालेको छ । स्वदेश तथा विदेशका विभिन्न ठाँउमा रहेका नेपाली नागरिकलाई दु:ख र समस्या पर्दा उद्दार तथा राहतका कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको संगठनका सल्लाहकार संयोजक उत्तम बडुवालले बताए ।

यस्तै, वरिष्ठ सल्लाहकार सदस्य तेजबहादुर रामजाली, सल्लाहकार रमेश बडुवाल, हस्त रेश्मी, नवराज खड्का बिष्णु देवकोटा, एकेन्द्र ओली, मिलन बोहरा, वीरबहादुर बुढाले युवाहरुले समाजमा मन, वचन र कर्मले एकताबद्ध भएर प्रसंशायोग्य काम गरेको भन्दै धन्यवाद दिएका छन् । यस्तै, भारतको बेङ्गलोर शाखा अध्यक्ष इन्द्र थापामगर र उपाध्यक्ष इन्द्र गाहामगरले नेपाल शाखामा रहेर जिम्मेवारी निर्वाह गरेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

राहत वितरण कार्यक्रममा नेपाल शाखा अध्यक्ष गणेश बिक, उपाध्यक्ष श्याम चौधरी, सहसचिव केशव ताम्राकार लगायत स्थानीय समाजसेवी सहित १ सय ९ जनाको सहभागिता रहेको थियो ।

कोषाध्यक्ष दिपक बुढाक्षेत्रीले स्वागत गरेको कार्यक्रममा संगठनका सहसचिव केशव ताम्राकार, ब्यापारी तथा समाजसेवी श्रीराम जोशी र मनऋषि आचार्यले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव कमल विश्वकर्माले गरेका थिए ।

 

 

 

प्रतिक्रया दिनुहोस्