विनाअक्सिजन हिमाल चढी विश्वकीर्तिमान राख्ने आङरिताको मृत्यु, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली

काठमाडौं । दश पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी ‘हिमचितुवा’ को उपनामबाट परिचित पर्वतारोही आङरिता शेर्पाको मृत्यु भएको छ ।

सोमबार बिहान १० बजे जोरपाटीस्थित छोरीको घरमा उनको मृत्यु भएको हो ।  उनी लिबर र ब्रेनजस्ता समस्याबाट पीडित थिए । १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी शेर्पाले विश्व रेकर्ड राखेका थिए ।

धार्भिक परम्पराअनुसार उनको अन्त्यष्टि  गरिने नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरे । “विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका आङरिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ”, प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन् ।  यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जली व्यक्त गरे । पर्यटनमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हिमचितुवा’ शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गरे ।

 

 

 

प्रतिक्रया दिनुहोस्