बंगलादेशबाट कात्तिकमा युरिया मल आउने, ८ महिनामा पैँचो तिर्नुपर्ने

काठमाडौ । नेपाल सरकारले बंगलादेशबाट सापटीमा ५० हजार टन युरिया मल ल्याउने पक्का भएको छ । बंगलादेशले ५० हजार टन युरिया पैँचोमा दिन लिखित पत्राचार गरिसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

‘बंगलादेशले चितगाउँ बन्दरगाहबाट ५० हजार टन युरिया दिने लिखित सहमति जनाइसकेको छ । उसले त्यहाँको कुन कम्पनीलाई सम्पर्क गरेर दिने भनेर पनि खुलस्त पारेको छ,’ केसीले भने, ‘बंगलादेशले सहमति दिएपछि कृषि सामग्रीले ढुवानीका लागि टेन्डर पनि खोलिसकेको छ ।’ पैँचो मल ल्याउन मन्त्रालयमातहतको कृषि सामग्री कम्पनी लिमिटेडले एक हप्ताको समय राखेर गत शनिबार नै टेन्डर खोलिसकेको छ ।

कम्पनीले रेल, सडकमार्ग र समुद्रीमार्ग कहाँबाट ल्याउँदा सस्तो पर्छ, सोहीअनुसार ल्याउने गरी टेन्डर भर्न इच्छुक ढुवानीकर्तालाई आग्रह गरेको छ । कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रप्रसाद भण्डारीले ढुवानीकर्ता छनोटपछि ७० दिनको समय दिएर बंगलादेशबाट मल ल्याउन सुरु गर्ने बताए । ‘

हामीले ढिलोमा कात्तिक पहिलो साताबाट बंगलादेशी मल भित्र्याउन सुरु गर्ने गरी प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने, ‘यो युरिया आउँदो गहुँ सिजनका लागि हो । गहुँ लगाउने किसानलाई कुनै समस्या नहोस् भन्नका लागि छिटो प्रक्रियाबाट मल ल्याउने प्रयत्न गरेका हौँ ।’

ठूलो परिमाणमा रहेको मलको प्याकेजिङ जिम्मा भने नेपालले नै लिएको छ । ढुवानीका लागि छनोट भएको ठेकेदारले नै प्याकेजिङ गरी ल्याउनुपर्ने सर्त राखिएको छ । यो मल वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकासम्म ल्याइदिनुपर्ने हुन्छ । पैँचो ल्याएको मल बंगलादेशलाई आठ महिनाभित्र तिरिसक्ने समझदारी भएको छ ।

कृषि सामग्रीले ग्लोबल टेन्डरबाट सो परिमाणको मल खरिद गर्ने ठेकेदारलाई कलकत्ता बन्दरगाहसम्म ल्याउने जिम्मा दिने र त्यहाँबाट चित्तगाउँ बन्दरगाहसम्म कृषि सामग्रीले नै ढुवानी गरेर पुर्‍याइदिने समझदारी भएको छ । नेपाल भिœयाउने मल भने विभिन्न नाकामा रहेका कृषि सामग्रीको गोदामसम्म वा भन्सार यार्डमा रहेको एकीकृत जाँचचौकीसम्म ल्याउने गरी टेन्डर हुने गरेको छ ।

कृषि सामग्रीले चालू आर्थिक वर्ष ०७६/७७ का लागि ८० हजार टन युरिया आयातको ठेक्का सम्झौता गरिसकेको छ । यो मल समयमै आए बंगलादेशलाई फर्काउन खासै समस्या हुँदैन । तर, गत आवको जेठ–असारमा नै मल ल्याउने सम्झौता गरेर झुक्याएको शैलुङलाई नै ५५ हजार टन युरियाको ठेक्का दिइएको छ । त्यस्तै, थप २५ हजार टन युरिया मुक्तिनाथ कृषि कम्पनीले ल्याउने ठेक्का पाएको छ ।

यी कम्पनीले सम्झौता गरेअनुसार कात्तिक पहिलो साताबाट मल ल्याउन सुरु गर्नुपर्ने हो । तर, अहिलेसम्म सुरसार गरेका छैनन् । कृषि सामग्रीका प्रबन्ध सञ्चालक भण्डारीले आपूर्तिको जिम्मा पाएका कम्पनीलाई चाँडो मल भित्र्याउने प्रक्रिया सुरु गर्न बारम्बार निर्देशन दिइरहेको बताए । उनले भने, ‘तर, अहिले रासायनिक मलको मूल्य अकासिँदै गएका कारण समयमै आउनेमा हामीलाई शंका लाग्न थालेको छ ।’नयाँ पत्रिकाबाट

 

 

 

 

प्रतिक्रया दिनुहोस्