पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन

काठमाडौं । पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंंको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मङ्गलबार राति निधन भएको हो ।

उनको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ  । जहानियाँ राणाशासन विरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेह्रथुमका लागि उनले सत्याग्रही कमाण्डर बनेर नेतृत्व गरेका थिए ।  राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ ।

वामपन्थी  पृष्ठभूमिका उनि विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भए । उनकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह (पावर हाउस) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो ।

कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ । धनकुटाको छथरस्थित तेलिया पीपलेमा विसं १९९० मा जन्मिएका आचार्य प्रवेशिका र स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्