कोरोना महामारीमा मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भीड

कैलाली । मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भीड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ ।

मालपोत कार्यालय कैलालीमा सेवा लिन दैनिक सयौको संख्यामा सेवाग्राही आउने गरेका छन ।असोज १ गतेबाट मालपोत कार्यालयको काम शुरु भएसँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड हुन थालेको हो ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न भनेपनि कैलाली मालपोत कार्यालयमा त्यसको पालना हुन नसकेको सेवाग्रहीहरुको गुनासो छ ।

मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, नत स्यानिटाइजर कै व्यवस्था गरेको छ ।

सेवाग्राही पनि मास्क समेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन् । कार्यालयका अधिकारीहरुले भिडभाड व्यवस्थापन र भौतिक दूरी कायम गराउन खोजे पनि सम्भव नभएको बताउँछन् ।

भिडभाड नियन्त्रणका लागि अहिले दैनिक ७० जनालाई मात्रै सेवा दिने गरी टोकन प्रणाली सुरु गरिएको प्रमुख सुरेन्द्र केसीले बताए ।

अहिले मालपोत कार्यालयमा जग्गा किनबेच, रोक्का, फुकुवा जस्ता कामका लागी सेवाग्राहीहरु आउने गरेका छन । आम नागरिकमा कोरोनाको डरभन्दा कामको चिन्ता बढी देखिएको छ । रासस

 

 

 

 

प्रतिक्रया दिनुहोस्