रौतहटमा प्रहरी हिरासतमा रहेकी महिलाको मृत्यु

रौतहट । हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका बिजय रामको घटना सेलाउन नपाउँदै रौतहटमा फेरी एकजनाको प्रहरी हिरासतमै मृत्यु भएको छ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाकोे हिरासतमा रहेकी महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

गुजरा नगरपालिका वाड नं. २ कटानीटोलकी राधिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् ।

अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी राउतको प्रहरीको महिला सेल हिरासतमा मृत्यु भएको हो । महिला सेलका सुरक्षाकर्मीले आज बिहान राउतलाई मृत अवस्थामा फेला पारेका थिए ।

कटानी बजारका एक युवकसँग अनैतिक सम्बन्ध राखेका बेला उनका श्रीमान सुमन राउतले बुधबार साँझ फेला पारी वडा अध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए । राधिकाले आफु छारे रोगको रोगी भएको र लामो समयदेखि औषधि सेवन गरिरहेको प्रहरीलाई बताएकी थिइन् ।

हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको डिएसपी भरत श्रेष्ठले बताए । यस भन्दा अघि गरुडा नगरपालिका वाड नं. ८ का निरन्जन रामको हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको पनि गरुडाको हिरासतमै मृत्यु भएको थियो । रामको गत भदौ १० गते मृत्यु भएको थियो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्