तनहुँमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

दमौली । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् ।

तीमध्ये एक बाबु र दुई छोरा छन् ।  ९८ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौंस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई काठमाडौं लगियो । उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो । योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

यसअघि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्