निर्मला हत्या प्रकरण : निलम्बित तीन प्रहरी अधिकारीको निलम्वन फुकुवा

काठमाडौं । निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारीको निलम्वन फुकुवा भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्वन फुकुवा भएको हो । निलम्वन फुकुवा भएसँगै उनीहरुलाई नियमित काममा फर्किने बाटो खुलेको छ ।

उनीहरुमाथि लागेको प्रमाण नष्टको मुद्दामा जिल्ला अदालत, कञ्चनपुरले सफाइ दिइसकेको छ । यसअघि प्रहरी नियमावलीमा कर्मचारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली हुन नपाउने व्यवस्था थियो । केहीअघि बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई संशोधन गरेर अन्तिम किनारा भन्ने शब्द हटाइएको थियो ।

त्यससँगै प्रकरणमा मुछिएका प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको हो । तत्कालीन ‘सिन अफ क्राइम सोको’ अफिसर प्रहरी नायब निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद पनि निलम्वनमा परेका थिए । उनीहरुमध्ये डिएसपी सेटी, प्रहरी निरीक्षक खड्का र सई धामीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाइसकेका छन् ।

अवकाश पाइसकेकाहरुले निलम्बित भएका वेलाको सेवा, सुविधाका लागि अपिल गर्न सक्नेछन् । बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको हकमा भने मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

प्रहरी महानिरीक्षकसमेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यावसायिक कार्य भएको देखिएको भन्दै विष्ट र भट्टलाई बर्खास्त गरिएको थियो ।

 

 

 

प्रतिक्रया दिनुहोस्