पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले दशैँमा टीका लगाइदिने कार्यक्रम यसवर्ष स्थगित

काठमाडौं । कोरोना महामारीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैँमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो ।

राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय हुन बाँकी रहेको जनाकारी दिएको छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले यो वर्षको दशैँको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम स्थगित गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समेत टीकाको कार्यक्रम स्थगित भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका छन् । स्रोतका अनुसार सर्वसाधारण मात्र नभई आफ्ना कर्मचारीलाई समेत टीकालगाइदिने कार्यक्रम बन्द भएको जनाइएको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्