बडादशैँका अवसरमा भौतिक दूरी कायम राखी देशभरका शक्तिपीठ खोल्न महासंघको माग

काठमाडौ । विश्व हिन्दू महासंघले नेपालीको महान चाड बडादशैँका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ ।

सरकारले कोरोना फैलिरहेका बेला अन्य क्षेत्र कहिले आंशिक त कहिले पूरा खुला गरेको उल्लेख गर्दै महासंघले नेपालीको आस्थाको केन्द्र मन्दिर पनि बडादशैँका अवसरमा सुरक्षित तरीकाले खोल्न आह्वान गरेको हो । महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश न्यौपानेले विज्ञप्ति जारी अन्य क्षेत्र खुला गरेर मन्दिरमात्र बन्द गरिनु संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेत्र भएको उल्लेख गरेका छन् ।

बडादशैँको अवसरमा शक्तिपीठ खुला गरी सुरक्षित तरीकाले पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाउन महासंघले माग गरेको छ । महासंघ लगायत संस्थाले पशुपति मन्दिर लगायत शक्तिपीठ खुला गरिनुपर्ने माग गर्दै तीन साताअघिदेखि पशुपति क्षेत्रमा दीप प्रज्ज्वलन गर्दै आएका छन् ।

नेपालीको महान् चाड बडादशैँ आजदेखि सुरु भएको छ । आज पहिलो दिन घर घरमा घटस्थापना गरी समृद्धिको प्रतीक जमरा राखिन्छ । त्यहीँ दुर्गा भवानीको आह्वान गरी नवरात्रभर विशेष पूजा आराधना गरिन्छ । वर्षभर आवश्यक पर्ने विभिन्न शक्ति प्राप्तिका लागि नवरात्रका बेला साधना गर्ने शास्त्रीय विधान छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्