सुदूरपश्चिम प्रदेश सभा सदस्यले ५६ हजारका दरले बुझे चाडपर्व खर्च

कैलाली । सुदूरपश्चिम प्रदेश सभाले पनि सभाका पदाधिकारी र सदस्यलाई चाडपर्व खर्च वितरण गरेको छ । एक महिनाको तलबबराबरको खर्च वितरण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा–सुविधासम्बन्धी ऐनमा उनीहरूले एक महिना तलबबराबरको चाडपर्व खर्च पाउने व्यवस्था छ ।

सचिवालयका सचिव रामसिंह धामीले कानुनमा व्यवस्था नभएकाले पदाधिकारी र सदस्यको सचिवालयमा नियुक्त कर्मचारीलाई भने यस्तो भत्ता वितरण नगरिएको बताए ।

पदाधिकारी र सदस्य सबैले चाडपर्व खर्च बुझिसकेको उनले जानकारी दिए । प्रदेश सभा सदस्यको मासिक तलब ५६ हजार, सभामुखको ६४ हजार, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको साढे ५९ हजार, चारवटा समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकको साढे ५७ हजार र सत्तापक्षका सचेतक तथा प्रतिपक्षीको प्रमुख सचेतकको ५७ हजार तलब रहेको सचिवालयले जनाएको छ ।

सचिवालयले ५३ सदस्यीय प्रदेश सभामा प्रदेश सरकारका सातजना मन्त्रीबाहेक अन्यलाई चाडपर्व खर्च वितरण गरेको हो । प्रदेश सरकार मन्त्रीहरू र मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीले पनि चाडपर्व खर्च भनेर एक महिनाबराबरको तलब सुविधा बुझेका छन् ।

मन्त्रीको सचिवालयका कर्मचारीले महँगी भत्ता पनि बुझ्दै आएका छन् । मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीले कानुनअनुसार एक महिनाको तलबबराबर चाडपर्व खर्च बुझेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लेखा अधिकृत नारायणदत्त मिश्रले जानकारी दिए ।

मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिमण्डल रहेको सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्रीको सचिवालयमा सातजना र मन्त्रीको सचिवालयमा पाँचजना कर्मचारी राख्न पाउने कानुन बनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीले झपटबहादुर बोहराले कानुनमा उल्लेख भएअनुसार सुविधा लिएको भए त्यसलाई अन्यथा मान्न नहुने बताए ।

उनले भने, ‘कानुनविपरीत कसैले सुविधा लिएको छ भने कारबाही गर्नुपर्छ । कानुनमा उल्लेख भएअनुसार सुविधा लिएको भए त्यसलाई अन्यथा मान्नुभएन । कोरोना संकटका वेला चाडपर्व खर्च लिएको भन्ने विषय नैतिक प्रश्न हो । चाडपर्व खर्च पाउने व्यवस्था संघमा पनि छ । कानुन बनाएरै यो सुविधा दिइएको हो ।’

 (नयाँ पत्रिकाबाट)

 

 

 

प्रतिक्रया दिनुहोस्