आलोचित बनेपछि नेकपा र काङ्ग्रेसका सांसदहरु धमाधम दशै भत्ता फिर्ता गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दसैंका अवसरमा सरकारले वितरण गरेको भत्ता सरकारलाई नै फिर्ता गर्ने निर्णय गरेको छ । कांग्रेसले संघीय सांसदहरुलाई सरकारबाट वितरण भएको दसैं भत्ता संघीय संसद सचिवालयमार्फत नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस महामारीको कारणले उत्पन्‍न हालको विषम् परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकाले संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराइएको भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

उनले संघीय संसद्‌का कांग्रेसका सदस्यहरुलाई सरकारले प्रदान गरेको ४३ लाख २० हजार आठ सय रुपैयाँ संघीय संसद सचिवालयमार्फत नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय गरिएको बताए ।

कोरोना भाइरसबाट देशभर दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्या बढी रहेको अवस्थामा परीक्षण र उपचारको दायरालाई बढाउँदै जानुपर्ने समयमा सरकारले कोरोना भाइरसको परीक्षण र उपचार स्वयं नागरिकले आफैँ गर्नुपर्ने तथा संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने जस्तो गैरजिम्मेवार तथा गलत निर्णयले महामारीले विकराल रुप लिने भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले दसैं भत्ता नलिने भएका छन् । नेकपा संसदीय दलले दसैं भत्ता नलिने र त्योबापतको रकम कोरोना कोषमा बुझाउने गरी संस्थागत निर्णय गर्न लागेको राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।

यस्तो बेलामा दसैं भत्ता बुझ्न सांसदहरूलाई अप्ठ्यारो भयो । दसैँ भत्ता नबुझ्ने बरु त्यो वापत आउने रकम कोरोना कोषमा जम्मा गर्ने गरी संस्थागत निर्णय गर्न लागेका छौं,” उनले भने, “केहीबेरमा दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य निकाल्नुहुनेछ ।”

संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि छलफल भइरहेको र आजै निर्णय हुने जानकारी दिए ।प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्