काँग्रेस नेतृ रेग्मीको अन्त्येष्टि, शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाईने

गोविन्द बीसी, बौनिया । नेपाली काँग्रेसले शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिले मोटरसाइकल दुर्घटनामा परि निधन भएकी क्षेत्रीय कोषाध्यक्ष भागरथी रेग्मीको शोकमा पार्टीको झण्डा आधा झुकाउने जनाएको हो ।

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै रेग्मीको निधनले सिङ्गो पार्टी मर्माहत र दु:खी भएको जनाएको छ । क्षेत्रीय सचिव तेजप्रताप मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा शोकाकुल परिवारलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् तथा मृतआत्माको चीरशान्तिको कामना सहित संवेदना प्रकट गरिएको छ ।

यस दु:खद घडीमा नेपाली काँग्रेस क्षेत्र नम्बर २ अन्तर्गतका पार्टीका सम्पूर्ण निकाय तथा तहहरुमा कार्तिक ६ देखि ३ दिनसम्म पार्टी कार्यालयमा आधा झण्डा झुकाउने र १३ दिनसम्म पार्टीको कुनैपनि औपचारिक कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

यस्तै, शुक्रबार स्वर्गीय रेग्मीको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली सहित कर्णाली चिसापानीमा अन्त्येष्टि गरिएको छ ।

शुक्रबार बिहान अन्तिम श्रद्धाञ्जली सहित उहाँको निवास प्रतापपुरबाट शवयात्रा गरि लम्कीबजार हुँदै कर्णाली चिसापानीमा हिन्दुधर्म परम्परा अनुसार दाहसंस्कार गरिएको नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ ले जनाएको छ । उहाँको निधनले नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ मा अपूर्णीय क्षति भएको भन्दै नेपाली काँग्रेस लम्कीचुहा नगर समिति र कैलाली क्षेत्र नम्बर २ ले दु:ख व्यक्त गरेको छ । नेपाली काँग्रेसले एक असल नेता कार्यकर्ता मात्र नगुमाई परिवारको सक्रिय, ईमान्दार, कर्मठ नेतृत्वलाई गुमाएको जनाएको छ ।

उहाँको निधनप्रति नेपाल प्रेस युनियन लम्कीशाखा कैलाली, नेपाली काँग्रेस लम्कीचुहा नगरसमिति, नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २, नेपाल तरुणदल नगर र क्षेत्रीय समितिका साथै नेपाल विद्यार्थी संघ लगायतका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाले गहिरो दु:ख व्यक्त गरेका छन् ।

बुधबार कार्तिक ५ गते साँझ साडेपानी र मुढाको बीचमा पर्ने बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा बसको ठक्करबाट नेपाली काँग्रेस क्षेत्र नम्बर २ की कोषाध्यक्ष भागरथी रेग्मीको मृत्यु भएको हो । पश्चिमबाट लम्कीतर्फ आउँदै गरेको अवस्थामा लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष रामप्रसाद चौधरी र नेपाली काँग्रेसकी नेतृ रेग्मी सवार से १ ब ९५७ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई सोहि दिशातर्फ आईरहेको सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाईकलका चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रतापुर निवासि रामबहादुर चौधरी घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाईते भएकी रेग्मीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । स्वर्गीय रेग्मीका एक छोरी र दुई नाबालक छोरा छन् ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्