नाका नखुल्दा हुम्लीको दशै बन्यो महँगो

सिमकोट । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्‍नुपर्दा दसैँ महँगो भएको हो ।

विगतका वर्षहरुमा प्रत्येक वर्षको दसैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दसैँ मनाउने गर्थे भने यो वर्षको दसैँ हुम्लीको महँगो बनेको सिमकोट ७ का अमृते विकले बताए ।

हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायत नाकाबाट चिनियाँ च्याङ्ग्रा आउँदा विगतका वर्षका दसैँ हुम्लीहरुले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए भने यसपटक च्याङ्ग्रा नआएपछि महँगो मूल्यमा स्थानीय खसी किनेर बलि दिएको विक बताउँछन् ।

चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा १५ हजार रुपैयाँसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा २७ हजार रुपैयाँसम्म पर्न गएकाले दसैँ महँगो भएको स्थानीय कालु बोहराले बताए । खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार १५ देखि २७ हजारसम्ममा बिक्री गरिएको बताए ।

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यसपटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारी बोहराले बताए । व्यापारीहरुले चिनियाँ च्याङ्ग्रा नआउँदा दसैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएको उनले बताए ।

दसैँ आउन एक साताअघि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गर्थे । कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका यसपटक बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् । -रासस

 

 

 

 

प्रतिक्रया दिनुहोस्