सुर्खेतमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक युवकको मृत्यु भएको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका– १२ का ३२ वर्षीय युवकको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो ।

दसैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उनको प्रारम्भिक उपचार भएको थियो । ज्वरो कम नभएपछि त्यहाँबाट उनलाई कोहलपुर रेफर गरिएको थियो । ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। प्रदेशभर संक्रमितको संख्या पाँच हजार ८५३ रहेको छ भने चार हजार ९५८ जना डिस्चार्ज भइसकेका छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्