२५ सयको मदिराको बिलको विवादमा ६३ वर्षीय होटल सञ्चालकको हत्या

रोल्पा । ११ देखि १७ वर्षका किशोरहरूले मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या गरेका छन् ।

रुन्टीगढी–२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको २५ सयको बिलको विषयमा विवाद हुँदा किशोरहरूले होटल सञ्चालकको हत्या गरि फरार भएका थिए । हत्या भएको १२ घण्टापछि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट परिचालित प्रहरी टोलीले  हत्या अभियोगमा चार जना किशोरलाई पक्राउ गरेको छ ।

पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै  १२ घण्टापछि स्थानीयहरूको सहयोगमा ती किशोरहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डlएसपी नरेशराज सुवेदीले बताए । पक्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

प्रहरी निरीक्षक खड्काले भने, ‘कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए , मदिरा सेवन गरेको बिल २ हजार ५ सय भएको सुनाउने बित्तिकै वृद्धमाथि ढुङ्गामुडा गर्दै कुटपिट गरेर उनीहरु फरार भएको र अनुसन्धान गर्दै जाँदा घरगोठमा फेला पारेका छौँ ।’ थप अनुसन्धानका लागि कात्तिक १६ गते अदालतबाट म्याद थप गरिएको उनले बताए ।

पक्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा अशान्तिपूर्ण गतिविधिमा संलग्न हुदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यानसम्बन्धी कसुर अनुसार मुद्दा दर्ता  गरेको छ ।  रासस

 

 

 

प्रतिक्रया दिनुहोस्