अब प्रत्येक छोरीलाई मासिक एकसय रुपैयाँ

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक छोरीलाई मासिक एकसय रुपैयाँ दिने गरि कार्यविधी पारित गरेको छ ।

छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५ औं बैठकले कार्यविधी पारित गरेको हो ।

‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै यो लागु हुने भएको छ । उपमहानगरपालिकाले २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिकाभित्रका हरेक छोरीहरुको र्बैक खातामा रकम जम्मा गर्ने उपप्रमुख माया शर्माले जानकारी दिइन् । त्यसका लागि चालु आर्थिक बर्षमा बजेट समेत छुट्याइएको छ ।

यो सुविधा लिनका लागि छोरी जन्मिएको ३५ दिनभित्रमा अभिभावकले वालिकाको जन्मदर्ता गराएको हुनुपर्ने, बैकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने कार्यविधीमा उल्लेख गरिएको उपप्रमुख शर्माले बताइन् ।

जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैयाँ र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुने उपप्रमुख आचार्यको भनाइ छ । बालिकाको नाममा खोलेको उक्त खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।

बालिका २० वर्ष पुगेपछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । त्यसकालागि २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्ने उपप्रमुख आचार्यले बताईन् ।

वाल विवाह गरेमा भने त्यो रकम सरकारी खातामा फिर्ता हुनेछ । तत्काललाई मासिक १ सय रुपैया जम्मा गर्ने भएपनि आवश्यकता अनुसार कार्यविधि परिवर्तन गरेर रकम वढाउन सकिने उमेत उपप्रमुख आचार्यको भनाई छ ।

कार्यविधि अनुसार समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पुरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम सबै दिनुपर्ने उल्लेख छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्