पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

नवलपुर । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।  कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरोमा पुरिएका थिए ।

सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए ।  मृत्यु हुनेमा सबै बुलिङटार–४का २० वर्षीय  गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ ।

पहिरोमा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो । पहिरोमा परी दुई जना घाइते भएका छन् । २१ वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन् ।

उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

 

 

 

प्रतिक्रया दिनुहोस्