विश्वभर कोरोना भाइरसको संक्रमणका कारण एकैदिन ९ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण एकैदिन ९ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ६३ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको हो ।

पछिल्लो २४ घण्टामा ५ लाख ७० हजार ९ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ करोड ८१ लाख नाघेको छ । जसमध्ये ३ करोड ४६ लाख निको भएका छन् भने १२ लाख ३० हजारको ज्यान गएको छ ।

अहिलेसम्म विश्वभर सबैभन्दा धेरै अमेरिकामा २ लाख ३९ हजारको ज्यान गएको छ । ९८ लाख १ हजारमा कोरोना पुष्टि भएको छ । ६२ लाख ९२ हजार भने निको भएका छन् ।

अमेरिकामा गएको २४ घण्टामा मात्रै एक लाख ८ हजार नयाँ संक्रमित थपिएका र एक हजार २ सयको मृत्यु भएको छ ।

यस्तै गएको २४ घण्टामा ५० हजारभन्दा धेरै संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख ६३ हजार नाघेको छ । त्यहाँ ७७ लाख १० हजार निको भएका छन् भने १ लाख २४ हजारको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा ५५ लाख ९० हजारमा कोरोना पुष्टि हुँदा ५० लाख ६४ हजार निको भएका छन् । १ लाख ६१ हजारको भने मृत्यु भएको छ ।

रुस, फ्रान्स, स्पेन, अर्जेन्टिन, कोलम्बिया र बेलायतमा संक्रमितको संख्या १० लाख नाघिसकेको छ ।

पछिल्ला दिनमा संक्रमण तिब्र फैलिएको नेपालमा १ लाख ८२ हजार ९२३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ४४ हजार ९७८ जना डिस्चार्ज भएका छन् भने ३६ हजार ९११ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको नेपालमा एक हजार ३४ जनाले ज्यान गुमाइसकेका छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्