बैठक बोलाउन प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

काठमाडौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल बैठक बोलाउन अस्वीकार गरेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँचजना सचिवालय सदस्यले संयुक्त रूपमा बैठकको माग गर्दै लिखित पत्र बुझाएपछि नेताहरूबीच छलफल भएको थियो । तर उनले तत्काल बैठकको मिति तोक्न अस्वीकार गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, “प्रधानमन्त्रीले बैठक बस्ने हो, सल्लाह गरेर बसौँलासम्म मात्र भन्नुभयो, मिति तोक्न तयार हुनु भएन ।” नेता श्रेष्ठका अनुसार पाँचजना सदस्यले लिखित पत्रमा ‘तत्काल’ बैठक राख्न माग गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘औचित्य र आवश्यकताका आधारमा बैठक बस्न सकिने’ धारणा प्रधानमन्त्रीले राखेको जानकारी दिए ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लिखित पत्रसहित बालुवाटार पुगेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई पत्र बुझाएका थिए ।

उनीहरूले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्