फर्जी बाबु बनाउन खोज्दा वडाध्यक्षसहित १० पक्राउ

काठमाडौ । भरतपुर महानगरपालिका-५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले बुबा इन्द्रबहादुर मल्ल र आमा मिरा शाह बनाएर नागरिकता लिन लागेपछि अनुसन्धान सुरु गरिएको हो । छोरीको जन्म मिति २०५७ असोज १ गते र बाबु आमाको विवाह दर्ता २०६२ जेठ १६ गतेको भेटेपछि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

निजहरूले छोरीको जन्मदर्ता भने विसं २०७० मा गरेको पाइएको छ । जन्मिएपछि जन्मदर्ता कुनै पनि समयमा गर्ने प्रचलन रहेको छ । जन्म भएको मिति बाबु आमा भनिएकाको विवाह भएको मिति भन्दाअघि देखिएपछि शङ्का लागेर प्रशासनले अनुसन्धान गरेको शर्मा बताउछन् । वडा कार्यालयको सिफारिससहित यही कात्तिक १७ गते नागरिकता बनाउन आएका उनीहरूबाट नक्कली कागजात भेटिएको हो ।

कागजपत्र पेश भएसँगै कार्यालयले अनुसन्धान शुरु गरी वडा अध्यक्ष, वडा सचिवसहित ६ जनाको बयान लिएको छ । अन्य चार जनाको बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्