अबको निकास ; दलमाथि प्रतिबन्ध र सैनिक शासनको आबश्यकता !

खगिन्द्र राज पौडेल
वर्तमान अबस्थाबाट देशलाई सहि दिशामा डोर्याउनका लागि राजा र जनता नै एक हुनुको बिकल्प देखिदैन । नेतृत्व लिने ब्यक्तिलाई नेता भनिनु पर्ने हो तर हाम्रो देशमा नेताको परिभाषा नै भिन्न बनाएका छन् नेताहरुले । नेता भनेको बिदेशीहरुको ईशारामा देशलाई उपनिबेशिक ढाँचामा परिबर्तन गर्नका लागि सहयोगीलाई नेता भन्नुपर्ने बाध्यता भएको छ यहाँ । देशलाई निर्माण गरी स्बतन्त्र राख्न सफल हाम्रो शाहबंशिय राजसत्ताको निरन्तरताले मात्र यो देश स्बतन्त्र रहन सक्छ भन्ने प्रमाणित भैसकेको छ ।

छिमेकीले दिएको एक टुक्रा रोटीलाई मोती सम्झिने र देशको सबै सार्वभौमिकतालाई तृण बराबर संझिनेहरुबाट देशको सार्बभौमिकताको रक्षा हुन सक्दैन । तर मैले यसो भन्नुको मतलब यो होईन की छिमेकी हाम्रालागि आबश्यक छैनन्। मेरो भनाई यति मात्र हो की हाम्रा छिमेकीलाई समभव राख्दै आन्तरिक देशको मामलामा हस्तक्षेपकारी भुमिका दिनहुन्न र आफ्नो आन्तरिक घरको रक्षा आफैले गर्न सक्नुपर्छ । राजालाई अविभाबकीय भुमिकामा देशको रक्षक बनाएर हामी जनताले आर्थिक बिकासलाई जोड दिएर अगाडी बढ्न सक्नु पर्दछ ।

सबै हाम्रा प्राकृतिक सम्पदाको भरपुर उपयोग गरी देशलाई आत्मनिर्भर बनाउन सक्नु पर्दछ । आफ्नो देशका गौरबमय ईतिहासको उपहाँस गरी बिदेशी संस्कृति भित्र्याएर सोही बिकृतिलाई २१औ शताब्दीको परिबर्तन भन्दै आफ्नो संस्कृति मास्न तल्लिन भएका बर्तमान परिबर्तनकारी गुलामीतन्त्र अब नेपाल र नेपालीलाई आबश्यक छैन । अरुका योजना सफल गराएबापत प्राप्त भैरहेका भिखलाई अमृत संझिने परीपाटी त्यागेर देशलाई आबश्यक पर्ने सबै चीजको उत्पादन गर्नका लागि हामीले कम्मर कस्नैपर्छ । देशका प्राकृतिक कच्चा पदार्थ कौडीको मोलमा बेचेर त्यही कच्चा पदार्थबाट उत्पादित बस्तुलाई सयौ गुना बढी मुल्य तिरेर ल्याउने परम्परालाई अन्त्य गरी आफ्नै देशमा औधोगिक क्रान्ती गर्नसक्नु पर्दछ । त्यसका लागि नेपाली जनता र राजा एक भएपछी मात्र संभब छ ।

देशमा च्याउसरी उम्रिएका पार्टी , नौ /नौ महिनामा सरकार परिबर्तन हुनुपर्ने बाध्यता, एक प्रतिशत जनताको प्रतिनिधित्व गर्न नसकेका पार्टीलाई मन्त्री ,सरकार टिकाउन गरिने एकता , एकराते जुट र फुटले दलीय ब्यबस्था कसैले जुटाई दिनुपर्ने , कसैले फुटाइ दिनुपर्ने ,कसैले आशिर्बाद दिएपछी पद पाइने , कोही रिसाएको दिन सत्ताबाट बाहिरिनु पर्ने सुन्दा पनि लाज लाग्ने पार्टी सिस्टम नै अभिसाष भैसकेको देखिन्छ ।मेरो देशको प्रतिनिधी म भन्नुभन्दा मैले हजुरकालागि यो गर्न सकिन भनेर बिदेशी सामु नतमस्तक भएर बोलेको सुन्दा गोर्खाली रगतको अपमान भएको छ,त्यसैले देशमा जबसम्म राजनैतिक स्थिरता हुन्न तबसम्म देशले बिकासको गति लिन सक्दैन र हालको राजनैतिक खिचातानी र मनोमानीले त झन् देश नै नसक्ला भन्न सकिंदैन ।

देशमा अबको आबश्यकता भनेको दुईपार्टी सिस्टम या निर्दलीयता नै हो जहाँ फुट्ने र फुटाउने खेल गरी राजनैतिक अस्थिरताले जन्म लिन नपाओस् । कम्तिमा ५ बर्ष स्थायी सरकार बनेर काम गर्न पाउने बाताबरण नबनेसम्म यो देशको उन्नति संभव छैन । पार्टीको नाममा देखिएका एजेन्सीहरुलाई जनताले निरुत्साही गर्न सक्नुपर्छ र देशभक्त र देशी शक्तिहरुबाट शासन गरियो भने यति सानो सुन्दर देबभुमीमा विकास गर्न समय लाग्दैन ।म मेरो देशलाई पहिला संम्बृध्द बनाउंछु त्यसपछी मात्र अरु विषयमा प्रबेश गर्छु भन्ने दृढ संकल्प हुनेलाई नेतृत्व दिन हिचकिचाउनु हुन्न ।

राजालाई देशको मीयो बनाएर आन्तरिक बिकासमा जनताले सासन गरी देशलाई संबृध्द बनाउन सकिन्छ । थोरैमात्र प्रयासले देश बनाउन सकिन्छ तर यो देशको आर्थिक बिकास देख्न नचाहनेहरुका एजेन्टलाई नेता मानेर संभब छैन भन्नेबुझ्नु जरुरी छ । नेता भनेको ईशारामा नाच्ने चटके होईनन् भनेर अब हामीले प्रमाणित गर्ने पर्छ । राजनीति पेशा होईन यो देशको आबश्यकता अनुसान नरम र कडा हुन सक्ने एक शक्ति हो । शक्तिलाई देशकै लागि सदुपयोग गरेर देश नै बनाउने लक्ष्यमा सिमित रहनु पर्दछ।त्यसैले राजालाई राजगद्दीमा राखेर जनमुखी प्रजातन्त्र (एजेन्ट रहित शासन ब्यबस्था) स्थापना गरी यो देशका सबैथोक जनता नै हुन् एजेन्टहरु होईनन् भन्ने प्रमाणित गर्दै अगाडी बढौ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्