कास्कीमा एकैदिन सातजना कोरोना संक्रमितको मृत्यु

पोखरा। कोरोना भाइरस संक्रमणबाट पोखरामा उपचाररत थप सात जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका छ जना र तनहुँका एक जना गरी पोखरामा उपचाररत सात संक्रमित पुरुषको मृत्यु भएको हो।

कार्तिक २९ गते कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत पोखरा–२७ का ७१ वर्षीय पुरुषको शुक्रबार बिहान १ः४० बजे, कार्तिक २३ गते भर्ना भएका पोखरा–८ का ५४ वर्षीय पुरुषको शुक्रबार विहान ३ः५० बजे र मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत तनहुँ म्याग्दे गाउँपालिका ५१ वर्षीय पुरुषको शुक्रकार बिहान ९ः३० बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा बिहीबार भर्ना भइ उपचाररत पोखरा–९ का ६८ वर्षीय पुरुषको बिहीबार राति ११ बजे, बिहीबार दिउसो भर्ना भइ उपचाररत पोखरा २१ का ७५ वर्षीय पुरुषको बिहीबार राति ११ः२० बजे, शुक्रबार बिहान भर्ना भएका पोखरा–१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्यान्न १२ः३० बजे र शुक्रबार नै भर्ना भई उपचाररत पोखरा–१३ का ५५ वर्षीय पुरुषकोबिहान ४ः१५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्रा।डा। अर्जुन आचार्यले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

प्रतिक्रया दिनुहोस्