शङ्खधर साख्वा र पद्मरत्न तुलाधरको सालिक रत्नपार्कमा अनावरण

काठमाडौं। रत्नपार्कमा शङ्खधर साख्वा र पद्मरत्न तुलाधरको सालिक अनावरण भएको छ।

शनिबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम आयोजना गरी उक्त दुई व्यक्तित्वको सालिक महानगरका प्रमुख विद्यासुन्दर शाक्य र शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले संयुक्त रूपमा अनावरण गरेका हुन्।

२० लाख रुपैयाँ लगानीमा निर्माण भएको सालिक महेश श्रेष्ठले बनाएका हुन्। राष्ट्रिय व्यक्तित्वहरूको सालिक निर्माण गरेकोमा मन्त्री श्रेष्ठले नगरप्रमुख शाक्यको प्रशंसा गरेका थिए।

साख्वा नेपाल संवतका प्रवर्द्धक र राष्ट्रिय विभूति समेत हुन्। ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो।

मन्त्री श्रेष्ठले भने, ‘घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शङ्खधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ। वामपन्थी राजनीतिज्ञ तुलाधरले वि।सं। २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए। यस्ता व्यक्तित्वहरुको सम्मानमा महानगरपालिकाले सालिक निर्माण गरेर उदाहरणीय काम गरेको छ।’

दुवैजना इतिहास पुरुष भएको पनि स्मरण गर्दै उनले रत्नपार्कलाई ‘शङ्खधर उद्यान’ घोषणा गरी त्यसकै रूपमा स्थापित गराउनु ठूलो कुरा भएको उल्लेख गरे। नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रूपमा स्थापित गराउने कुरामा कसैको विमति नरहने थप प्रस्ट पारे।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले दीर्घकालसम्म चिनुन्‌ र सम्झिरहुन्‌ भनेर महानगरपालिकाले सालिक निर्माण गरेको जानकारी दिए। ‘उहाँहरूको योगदानलाई कतिपय अवस्थामा हामीले चाहेर पनि बिर्सन सक्दैनौं। उपत्यकाबासीका लागि शङ्खधर र पद्मरत्न मन मुटुमा छन्,’ शाक्यले भने, ‘हामीले उहाँहरूको सम्मानमा सालिक निर्माण गर्न पाउँदा खुशी छौं। हामीले पार्कभित्र सालिक राखेर सधैँ सबैले चिन्न र देख्न सकुन्‌ भन्ने ठानेका छौं।’

बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले काठमाडौंका नेवार मात्रै होइन, सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ भन्ने नेता तुलाधरप्रति सम्मान गर्न पाएको बताए।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि कार्यक्रममा सहभागी थिए। कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यस्ता व्यक्तिको सम्मान गरी सालिक निर्माण गर्ने अवसर महानगरले प्राप्त गरेकोमा खुशी व्यक्त गरिन्।

कार्यक्रममा पद्मरत्नकी छोरी सुम्निमा तुलाधरले पिताजीको सम्मानमा सालिक स्थापना हुँदा परिवारले गर्व गरेको बताइन्।

प्रतिक्रया दिनुहोस्