स्थायी समिति सदस्य सहभागी कार्यक्रममा नेकपाकै कार्यकर्ताद्वारा नाराबाजी

बरिष्ठ नेता नेपालद्वारा नाराबाजीको भत्र्सना र छानबिनको माग

चितवन। पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी एक कार्यक्रममा नेकपाकै कार्यकर्ताले नाराबाजी गरेका छन् ।

पाण्डे सहभागी सो कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका हुन् । राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए । मदनभण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले उनीविरुद्ध नारावाजी गरेका थिए ।

पाण्डेविरुद्ध नाराबाजी गर्दै उनीहरुले पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनका कुनै पनि कार्यक्रममा बोल्न नदिने चेतावनी दिएका छन् ।
नेकपा राप्ती नगरकमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको बताए ।

त्यस्तै, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले उक्त कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भएको उनले बताएका छन् ।

प्रतिक्रया दिनुहोस्