‘कुनै व्यक्तिले लठ्ठीले हानेर फुट्नलाई नेकपा माटोको हाँडी हैन’ : नेता रावल

भदौ २६ गतेको स्थायी कमिटी बैठकले गरेको सङ्घीय सरकार र प्रदेश सरकार हेरफेर गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने

धनगढी। नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी कुनै हालतमा नफुट्ने बताएका छन्।

आइतबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले भने, ‘नेकपा माटोको हाँडी हैन, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्ने बिक्तिकै फुट्ने। यो कुनै कमजोर आधारमा बनेको पार्टी पनि हैन।’

आठ लाख कार्यकर्ता भएको विशाल पार्टी नेकपा भएको र कसैले बोल्दैमा पार्टी फुट्ने भन्ने नुहनेमा उनले जिकिर गरे। नेता रावलले पार्टी फुटाएर कसैलाई फाइदा नहुने पनि बताए।

‘केपी ओलीले पार्टी फुटाएर प्रधानमन्त्रीभन्दा ठूलो पद के पाउनु हुन्छ? उनले प्रश्न गर्दै भने अर्का कार्यकारी अध्यक्ष प्रचण्डले योभन्दा ठूलो कुन पार्टीको नेतृत्व गर्नु हुन्छ ? त्यसैले पार्टी फुट्ने भन्ने हल्ला मात्रै हो, पार्टी कुनै हालतमा फुट्दैन्।’

प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताको लागि दोस्रो पुस्ता र युवालाई नेतृत्व दिनुपर्ने भाषण गर्दै हिँडेका पनि नेता रावलले बताए। ‘बाहिर बाहिर बोलेर हुँदैन। बैठकमा प्रस्ताव ल्याउन सक्नुपर्छ’, उनले थपे, ‘पार्टीले निणर्य पारित गर्छ, सोही आधारमा क–कसले बिदा लिनुपर्ने हो त्यही दिन लिउँला।’

अहिले पार्टीभित्रको विवाद पद र भागबण्डका लागि नभएको नेता रावलले बताए। पार्टीका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदका लागि लडाइँ नगरेको पनि उनको दाबी थियो।

‘२०७६ साल मंसिर ४ गते सचिवालय बैठकमा सरकार सञ्चालन पूरा अवधि केपी ओलीले गर्ने र पार्टीको कार्यकारी अधिकार प्रचण्डले गर्ने भन्ने सहमति भएको रहेछ, उहिले सहमति भएको कुरा अहिले आएर प्रचण्डले पदको लडाइँ गरे भन्ने कुरा सुहाउँदैन,’ रावलले भने।

त्यस्तै, आईतबार नै धनगढीमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भदौ २६ गतेको स्थायी कमिटी बैठकले सङ्घीय सरकार र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको र सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

‘भदौ २६ को स्थायी कमिटीको बैठकबाट प्रदेश सरकार र संघीय सरकार हेरफेर गर्ने निर्णय भएको छ । कहाँ कहाँको सरकारको केके मूल्यांकन गर्ने, त्यहाँ के के फेरबदल गर्नुपर्ने आश्यकता छ तदनुकुल गर्ने भन्ने कुरा त प्रष्ट हो नि’ उनले भने, ‘तर त्यो विषयलाई कार्यान्वयन गर्नका लागि जसरी थप अगाडि छलफल र बैठक गर्नुपर्थ्यो, त्यो नगरेकोमा हाम्रो आपत्ति हो ।’

सरकार हेरफेर गर्न आवश्यक थिएन भने किन निर्णय गरेको र दुई अध्यक्षले किन अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको भनी रावलले प्रश्न गरेका छन् । ‘तीन वर्ष बित्दाखेरि अब सरकारको समीक्षा गरेर यसलाई बाँकी दुई वर्षको अवधिमा प्रभावकारी बनाउन विभिन्न जनशक्तिको विन्यास गर्दाखेरि पनि कसरी जाने भन्ने प्रसंगको कुरा हो । पार्टीले निर्णय गरिसकेको हुनाले निर्णय कार्यान्वयन गर्ने हो भने विल्कुल अगाडि बढ्नुपर्छ । त्यतातर्फ सोच्नुपर्छ’ उनले भने ।

भागबन्डामा नभई आवश्यकतामा सरकार फेरबदलको निर्णय गरिएको बताउँदै नेता रावलले उक्त निर्णय कार्यान्वयन नभएको आपत्ति जनाए । ‘३ वर्ष बित्दा सरकारको समीक्षा गरेर बाँकी २ वर्षमा अगाडि कसरी बढाउने भन्ने बिषयले सरकार फेरबदल गर्ने भनिएको हो । भागबन्डाका लागि होइन’ उनले भने, ‘तर, त्यो विषय कार्यान्वयन प्रक्रिया अघि नबढेको विषयमा हाम्रो आपत्ति छ ।

प्रतिक्रया दिनुहोस्