सुर्खेत डेरी उद्योगद्वारा काठमाडाैंलाई दूध सप्लाई

सुर्खेत। कर्णाली प्रदेशको १० हजार लिटर दूध पहिलो पटक काठमाडौं निर्यात गर्न थालिएको छ ।

मुख्यगरी ३ जिल्लाबाट सुर्खेतमा संकलन भइरहेको दूध कर्णाली प्रदेश राजधानीमा बिक्री नहुँदा काठमाडौं निर्यात गरिएको हो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पालिकाहरुले कृषक लक्षित कार्यक्रमले व्यावसायिक पशुपालनमा वृद्धि भएपछि दूध उत्पादनमा समेत वृद्धि भएको छ ।

दूधको उत्पादन बढ्दै गएपछि उद्योगले कर्णालीको दूध काठमाडौंका उपभोक्तालाई बिक्री गर्न सुरु गरेको छ । पालिकाहरुले कृषकले उत्पादन गरेको दूध खेर जान नदिन र कृषकलाई राम्रो मूल्यमा बजारको सुनिश्चिता गरेपछि कर्णालीमा दूध संकलन दर बढेको सुर्खेत डेरी उद्योगका सञ्चालक माधव धितालले बताए ।

झण्डै १५ करोड लागतमा सुर्खेतमा स्थापना भएको सुर्खेत डेरी उद्योगले सुर्खेत, दैलेख र सल्यानबाट दैनिक दूध संकलन गर्दै आएको छ ।

उद्योगले सुर्खेतमा दैनिक ३ र दैलेखबाट १ हजार लिटर दूध संकलन गरिरहेको छ । सल्यानबाट भने हप्तामा २ पटक २ हजार दूध संकलन गरिरहेको छ ।

‘सुर्खेतमा संकलन भएको दूध खपत कम भएपछि काठमाडौं पनि निर्यात गर्न थालेका छौं,’ सुर्खेत डेरी उद्योगका सञ्चालक माधव धितालले भने, ‘हरेक साता १० हजार लिटर दूध काठमाडौं पठाइरहेका छौं ।’

सुर्खेतको चौकुने, पञ्चपुरी, बड्डीचौर, भेडावारी, मेहलकुना, मलारानी, चिंगाडा, दैलेखको नारायण नगरपालिका, चामुण्डा र सल्यानको बागचौरबाट दूध उद्योगमा संकलन भइरहेको छ ।

‘प्रदेश राजधानीमा दैनिक २ हजारदेखि २ हजार ५ सयसम्म दूध बिक्री हुन्छ,’ सञ्चालक धितालले भने, ‘बाँकी बचेको दूध हामीले सिधै काठमाडौं पठाउने गरेका हौं ।’

काठमाडौं निर्यात हुने दूध उच्च प्रविधिको चिस्यान जडित ट्यांकरमार्फत ढुवानी गर्ने गरिएको छ । उद्योगले केही दिनमा रानीवासको दूध उठाउने तयारी गरेको छ । दूध ढिला संकलन हुने स्थानमा चिस्यान केन्द्र स्थापना गरेर दूध संकलन गरेर वीरेन्द्रनगर ल्याउने गरिएको धितालको भनाइ छ । उद्योगले रारा ब्रान्ड नामका दूध, दही, पनिर, घ्यू र मोही दैनिक उत्पादन गरेर वीरेन्द्रनगरमा बिक्री गरिरहेको छ ।

प्रतिक्रया दिनुहोस्