भारतमा पनि भेटियो नयाँ प्रकारको कोरोना

काठमाडौ । भारतमा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ । बेलायतबाट आएका ६ जनमा नयाँ प्रकारको कोरोना पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

संक्रमण पुष्टि हुनेमा बेंगलरू, हैदरावाद र पुनेका नागरिक छन् । अहिले संक्रमण पुष्टि भएका छ जनाको परिवार र उनीहरूसँग नजिकको सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ गर्ने काम भइरहेको छ ।

बेलायतबाट आएका यात्रुहरूको ‘जिनोम सिक्वेन्सिङ’ विधिबाट परीक्षण गरेपछि नयाँ प्रजातिको भाइरस रहेको पुष्टि भएको बताइएको छ । भारतले गत साता नै बेलायतसँगको हवाई सेवा बन्द गरिसकेको छ ।

नयाँ प्रजातिको कोरोना पहिलेको भन्दा ७० प्रतिशत संक्रामक रहेको भन्दै यसले शरीरलाई छिटो आक्रमण गर्ने अध्ययनले बताएको छ ।

सुरूमा बेलायतमा देखिएको उक्त नयाँ प्रजातिको भाइरस अहिले युरोपको अन्य देशहरूमा पनि देखा पर्न थालेको छ ।साथै जापान, क्यानाडा र दक्षिण अफ्रिकामा पनि उक्त भाइरस फेला परेको छ ।

 

प्रतिक्रया दिनुहोस्