सासु बुहारीनै ब्राउन सुगर ओसारपसारमा सक्रिय

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । ‘

विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो’, उनले भने, ‘सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा ९ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।’ लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको २१ हजार ५०० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्