राजतन्त्रप्रतिको जनलहरले अत्तालिदै प्रचण्ड, दिए फेरि संघर्षको चेतावनी

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपाका ) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा देखिएको बताउनुभएको छ ।

संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको प्रचण्डको भनाइ छ। ‘यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेका छन्,’ आज तमू (गुरुङ) समुदायको तमू ल्होछार ल्होसार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हिको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले भन्नुभएको छ ।

उहाँले पछिल्ला घटनाक्रमले जनताको संघर्षबाट प्राप्त उपलब्धी गुम्ने त होइन भन्ने खतरा पैदा भएको पनि बताउनुभयो । ‘पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको छ। आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको छ,’ प्रचण्डले भन्नुभएको छ ।

उपलब्धी गुम्न नदिन एकतावद्ध भई आन्दोलनमा लाग्न पनि प्रचण्डको आग्रह छ। उनले आ–आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरस ९कोभिड–१९० को महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन पनि आग्रह गर्नुभएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्