आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए ।

नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका छन् ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली ढाका टोपी, भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित सरकारलाई दबाब दिँदै आएको छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्