सञ्चालक पक्राउ परेपछि लुम्बिनी चिनी मिलले दियो भुक्तानी

नवलपरासी। लामो समय ऊखु किसानको भुक्तानी रोकेर राखेको पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परेलगत्तै उखु किसानहरुलाई भुक्तानी दिन शुरु गरिएको छ । उद्योगले कुल ८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ ।

खातामा पैसा भएर पनि किसानलाई विभिन्न बहानामा अग्रवालले पैसा रोकेको गुनासो बढ्दै गएको थियो । बिहीबार बीरगन्जमा संचालक अग्रवाल पक्राउ परेसंगै उद्योगका कर्मचारीले किसानलाई सम्पर्क गरेर भुक्तानी दिन थालेका हुन् ।

उद्योगले बैंक खातामा २ करोड रुपैयाँ जम्मा गरेको जनाएपनि किसानहरुलाई भने भुक्तानी दिएको थिएन । उद्योगले जिल्लाका किसानहरुलाई ईसेवाबाट भुक्तानी दिन सुरु गरेको हो । बिहीबार साँझसम्म उद्योगले किसानहरुको खातामा १ करोड ९ लाख रुपैयाँ जम्मा गरी सकेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

उद्योगका सञ्चालकलाई भुक्तानीको अवस्था र सुनिश्चितताबारे सोधपुछ गर्न वीरगञ्जबाट नवलपरासी बोलाइएको पाठकले बताए । अग्रवाल नवलपरासी नपुग्दै उद्योगका प्रबन्धक बिजयकुमार गुप्ता बिहीबार दिउँसो जिल्ला प्रशासन पुगेर किसानको रकम भुक्तानी प्रकृया सुरु गरिएको र पुस मसान्तभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

उद्योगका प्रबन्धक गुप्ताले अहिले २ करोड जम्मा गरेर भुक्तानी दिन सुरु गरेको बताए । हप्ता दिनभित्र अरु २ करोड जम्मा गरेर फेरि भुक्तानी दिने र शुक्रबार सम्म बैंक ग्यारेण्टी मार्फत पुस मसान्तभित्र सम्पूर्ण रकम भुक्तानी दिने गुप्ताले बताए । भुक्तानीपछि माघ १ बाट उद्योग नियमित सञ्चालन गर्ने उनले बताए । उद्योगका सञ्चालक मनिष अग्रवालको निधन भएपछि अंशवण्डामा उक्त उद्योगको स्वामित्व मृतकका भाई मनोजले लिएका हुन् ।

त्यसैगरी इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल काठमाण्डौं रहेको र प्रहरीले निगरानी बढाई रहेको प्रजिअ पाठकले बताए । इन्दिराले ५ करोड भुक्तानी दिन बाँकी रहेको छ । उद्योगले ८० लाख रुपैयाँ खातामा जम्मा गरेको भएपनि किसानलाई दिएको छैन । ठगी मुद्दा दर्ता भएकाले उनी पक्राउ परे लगत्तै कारबाही प्रकृया अघि बढाएर किसानको रकम तिर्न लगाउने प्रजिअ पाठकले बताए ।

जिल्लामा ३ चिनी उद्योग छन् । हाल बागमती चिनी उद्योग मात्र सञ्चालनमा छ । संचालक पक्राउ परेपछि भुक्तानी पाएका किसानले अरु संचालकलाई पनि यसैगरी कानुनी कारबाहीमा ल्याउन माग गरेका छन् ।

प्रतिक्रया दिनुहोस्