प्रचण्ड-माधव समूहले दिएको निवेदनमाथि निर्वाचन आयोगले परामर्श गर्दै

काठमाडौं। नेकपाको प्रचण्ड-माधव समूहले दिएको निवेदन उपर निर्वाचन आयोगले परामर्श गरिरहेको जनाएको छ।

अंग्रेजी नयाँ २०२१ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै नेकपा विभाजनपछि आएको आधिकारिकताका लागि प्रचण्ड-माधव पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको बताएका थिए।

प्रधानमन्त्रीले भने सूर्य चिह्न र नेकपा पनि आफ्नै समूहको हुने दावी गरेका छन्। उनले भने, ‘उहाँहरु सूर्य चिह्न पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो, आयोगले निवेदनको रीत नपुगेको, कानुन उल्लेख नभएको भनेर हिजो फिर्ता पठाइदियो।’

आयोगको उच्च स्रोतले नेपालमा कसैले दिएका निवेदन उजुर फिर्ता गर्ने कानुन नभएको बताउँदै यो फिर्ता हुने कुरा नभएको र बरु दाबीका आधार माग गर्ने र विवाद समाधानका लागि परामर्श गर्ने काम आयोगले छिटै शुरु गर्न सक्ने बताएको छ।

प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति के हो त? भन्ने जिज्ञासामा स्रोतले भन्यो, ‘यो उहाँलाई गलत ब्रिफिङ भएका कारण हुन सक्छ। यद्यपि सरकारले अहिलेसम्म यस विषयमा कुनै पनि जिज्ञासा वा सोधपुछ पनि गरेको छैन।’

प्रधानमन्त्री ओलीले भने सोही सन्दर्भमा, ‘उहाँहरु (प्रचण्ड-माधव) वैधानिकताको निवेदन बोकेर निर्वाचन आयोग जानुभएको छ, तर आफ्नो तर्फबाट वैधानिकताको दर्खास्त हाल्न कहीं नगएको बताउँदै आफू नै वैधानिक भएको दाबी गरे। प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समूहका गतिविधिले आम कार्यकर्ताको मन दुखेको पनि बताए।

उनले सूर्य चिह्न पनि आफ्नै भएको भन्दै कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे। ‘सूर्य चिह्न २०४८ देखि हाम्रो हो, एक दुई जना मान्छेले छोड्दैमा सूर्य कहीँ जाँदैन। सूर्य चिह्न हामीसँगै छ, बहुमत हामीसँगै छ’ ओलीले भने, ‘चुनावै हुँदैन चाहिंदैन भन्नेलाई किन चाहियो सूर्य चिह्न?’ भनेर प्रश्न पनि गरेका थिए।

प्रतिक्रया दिनुहोस्