प्रचण्ड-माधवलाई ओलीको कटाक्षः सुन्तला खान सल्लाघारीतिर गएर हुँदैन

घर मालिकले आफ्नो घरको दाबी गर्दै कतै निवेदन हाल्न नपर्ने भनाई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुन्तला खानका लागि सल्लाघारीमा नजान आग्रह गरेका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

‘उहाँहरूको ध्यान कुर्सीमा मात्रै छ। हाम्रो बैठकमा आएको भए पाइहाल्थ्यो नि’ उनले भने, ‘सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन।’

पार्टीलाई सुदृढ बनाएर आँधी तुफानको साथ अब काम गर्ने दाबी गरे। अब पार्टीले आफ्नो परिवारलाई नभएर जनताको पक्षमा काम गर्ने दाबी गरे।

अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको आरोप लगाए। ‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न दिनुभयो नै’ उनले भने। पार्टीभित्रको बैठक बैठकजस्तो नभएर गुटको समीकरण भएको बताए।

त्यस्तै, सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले घर मालिकले आफ्नो घरको दाबी गर्दै कतै निवेदन हाल्न नपर्ने बताएका छन्।

‘उहाँहरूले निर्वाचन आयोगमा आफू आधिकारिक भएको निवेदन हाल्नुभएको रहेछ। हिजो मलाई निर्वाचन आयोगबाट एउटा पत्र प्राप्त भयो’ उनले भने, ‘घर मालिकले आफ्नो घरको दाबी गर्न पर्दैन।’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले क्षमताभन्दा ठूलो सपना देखेको उनले बताए।

‘उहाँहरू गुटको भेला गर्नका लागि कार्की बैंक्‍वेट जानुभएको रहेछ। उहाँहरुको आँट पनि कत्रो ओलीलाई अध्यक्षबाट निकालिदिने रे!’ उनले भने।

‘उहाँहरुले आफू आधिकारिक भएको पत्र पठाउँदा निर्वाचन आयोगका आयुक्तहरु पनि कति हाँस्नुभयो होला?’ उनले भने, ‘जसको जग्गा हो। जसको घर हो। त्यसले आफ्नो भएको दाबी गर्दै निवेदन हाल्नै पर्दैन।’

विधि, विधान, संविधान र देशको कानुन अनुसार पार्टी सञ्चालन गरिरहेको हुनाले पार्टीको सबै आधिकारिक अधिकार आफ्नो भएको दाबी गरे। ‘रुखबाट झरेको दुईवटा फलले रुख नै मै हुँ भन्न मिल्छ?’ उनले प्रश्न गर्दै भने।

‘प्रचण्ड पक्षलाई आफूहरुले अझै पनि पार्टीबाट नहटाएको बताए। प्रचण्डलाई अध्यक्षमा राखिरहेका छौं। माधव र झलनाथ खनाललाई हामीले अझै वरिष्ठ नेताको रुपमा राखिरहेका छौं’ उनले भने।

प्रतिक्रया दिनुहोस्